Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


निर्वाचनमा जाने पार्टीको संस्थागत निर्णय कार्यान्वयन गर्नुको विकल्प छैनः नेता पौडेल


117
Shares

काठमाडाैं। नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले मुलुकको विद्यमान संकट समाधानका लागि निर्वाचनमा जाने पार्टीको संस्थागत निर्णय कार्यान्वयन गरेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ।

पार्टीभित्र प्रतिनिधि सभा पुनःस्थापनाका लागि सांसदहरूको हस्ताक्षर अभियान चलिरहेकाे समयमा नेता पौडेलले निर्वाचनको वातावरण बनाउने कुरालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको हो। सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले वर्तमान राजनीतिक गतिरोधको निकास निर्वाचनबाट मात्र सम्भव भएकाले कांग्रेसले सोही अनुसारको भूमिका खेल्नुपर्ने बताउनु भयो । उहाँले पार्टीका सांसदहरूको व्यक्तिगत असन्तुष्टि वा धारणाभन्दा पनि पार्टीको संस्थागत निर्णय नै सर्वोपरि हुने जिकिर गर्नुभएकाे छ।

सांसदहरूको समयावधि नपुगेको भन्ने गुनासो र अदालतमा हस्ताक्षर बुझाउने विषयलाई उहाँले नितान्त व्यक्तिगत विषयको संज्ञा दिनुभयो । पार्टीले सर्वसम्मत रूपमा निर्वाचनमा जाने निर्णय गरिसकेकाले त्यसलाई ‘क्रस’ गरेर जाने अधिकार कसैलाई नभएको उहाँको तर्क छ। नेता पौडेलले निर्वाचनमा जानुपूर्व पार्टीको महाधिवेशन सम्पन्न गर्नु अनिवार्य रहेको समेत बताउनुभयो । महाधिवेशन नगरी निर्वाचनमा जाँदा पार्टीले ठूलो क्षति व्यहोर्नसक्ने उहाँको चेतावनी छ। एमाले लगायतका अन्य दलले अधिवेशन गरिसकेको अवस्थामा कांग्रेसले पनि आफूलाई अद्यावधिक गरेर मात्र निर्वाचनमा जानुपर्ने उहाँको भनाइ थियाे।

नेता पौडेलले पार्टी सभापति शेरबहादुर देउवासँगको भेटको प्रसंग पनि कोट्याउनुभएकाे छ। उहाँले पछिल्लो समय उठेका ‘जेनजी’ आन्दोलन र युवाहरूको धारणाप्रति सभापति देउवा सकारात्मक रहनुभएको खुलासा गर्नुभयो। नेता पौडेलले पार्टीलाई व्यवस्थित बनाउन, नयाँ पुस्तालाई आकर्षित गर्न र नीतिगत स्पष्टताका लागि महाधिवेशनको विकल्प नभएको भन्दै तोकिएकै समयसीमाभित्र अधिवेशन प्रक्रिया अघि बढाउन सबै नेता तथा कार्यकर्तालाई आग्रह समेत गर्नुभएको छ।