Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


एमालेको ११ औँ महाधिवेशन सन्देश प्रवाह गर्न आज देशभर संयुक्त भर्चुअल बैठक बस्दै


156
Shares

काठमाडौँ ।

नेकपा एमालेले ११ औँ महाधिवेशनका निर्णय र सन्देश देशैभरि प्रवाह गर्न आज सबै प्रदेश तथा ७७ वटै जिल्ला कमिटीको संयुक्त बैठक आयोजना गरेको छ।

पार्टीका महासचिव शङ्कर पोखरेलले भर्चुअल माध्यमबाट दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयबाट बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। यस बैठकमार्फत महाधिवेशनले चुनेको नयाँ नेतृत्व, त्यसको कार्यभार र वर्तमान राजनीतिक अवस्थाबारे स्पष्ट सन्देश दिने तयारी गरिएको छ।

केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार जिल्ला कमिटीका पदाधिकारीदेखि सचिवालय सदस्यसम्म तथा प्रदेश कमिटीका पदाधिकारीसहित सबै सदस्यलाई जुम आइडी पठाइसकिएको छ। उनले भने, “११ औँ महाधिवेशनका प्रारम्भिक निर्णय र सन्देश जनसमक्ष पुर्‍याउन यो बैठक आयोजना गरिएको हो। महासचिव कमरेडले महाधिवेशनको राजनीतिक निष्कर्ष र आगामी कार्यदिशाबारे प्रस्ट पार्नुहुनेछ।”

एमालेले स्थानीय तहमा भइरहेका गतिविधि, पार्टीसँगको समन्वय तथा महाधिवेशनले तय गरेको राजनीतिक कार्यदिशालाई आत्मसात् गर्दै काम गर्न पार्टी पंक्तिलाई निर्देशन दिने जनाएको छ।

कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाका अनुसार बैठकसम्बन्धी जानकारी सबै जिल्ला कमिटीलाई पहिल्यै गराइसकिएको छ।