काठमाडाैं। सरकारले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन निर्धारित मितिमै हुन्छ वा हुँदैन भन्ने विषयको बहस झनै घनिभूत भएको छ।
निर्वाचन आयोगले कार्यतालिका अनुसार काम अगाडि बढाइरहेकाे जनाउकाे हाे। तर राजनीतिक माहोल नबनेको भन्दै आंशका पनि उसैगरी व्यक्त भइरहेको छ। यसै मेसोमा सरकारले सरोकारवालाहरुसँग फागुन २१ गतेको निर्वाचनको सन्दर्भमा छलफल गरेको हाे। प्रधानमन्त्री सुशीला कार्की समेत सहभागी छलफलमा क-कसले के भने त ?
सिंहदरबारमा सोमबार प्रधानमन्त्री कार्कीले निर्वाचन आयोग, सुरक्षा संयन्त्र, जेनजी, राजनीतिक दल तथा नागरिक समाजका प्रतिनिधिसँग छलफल गर्नुभयो। सरकारको तर्फबाट गृह मन्त्रालयले सुरक्षा व्यवस्थाप्रति आश्वस्त पार्दै गर्दा आयोगले पनि सबै काम कार्यतालिका अनुसार नै भइरहेकाले समस्या नभएको जानकारी गराएकाे छ।
सरकारले विदेशमा रहेका मतदाताहरुलाई मतदानमा ल्याउनेदेखि यहाँको राजनीतिक वातावरणका विषयमा छलफल केन्द्रित गर्न खोजेको थियो । सबै राजनीतिक दलका नेताले निर्वाचनमा जाने बताएता पनि तयारी र सुरक्षाका विषयमा भने सरकारसँग प्रश्न गरेका छन्।
राजनीतिक दलहरुले आ-आफ्ना चासो र धारणा राखिरहँदा नागरिक समाजका प्रतिनिधिहरुको चासो पनि राजनीतिक सहभागिताका लागि सरकारले माहोल बनाउनुपर्नेमा केन्द्रित थियो । उनीहरुले तोकिएकै समयमा निर्वाचन नभएमा समस्या आउन सक्ने भएकाले पनि त्यसको गाम्भिर्यता बुझ्न जरुरी रहेको धारणा पनि राखेका थिए । जेनजी प्रतिनिधिहरुको चाहना भने अहिले नै विदेशमा रहेका मतदातालाई मताधिकार दिनुपर्ने र निर्धारित मितिमा निर्वाचन लगायतका विषय थिए । जेनजी युवाहरु पनि चुनावको तयारीप्रति आश्वस्त देखिएका छैनन् ।
यसरी फागुन निर्वाचनको मिति नजिकिंदै गर्दा सरकार भने कानुन संशोधन लगायतका विषयमा अझै पनि छलफलमा देखिन्छ । अब राजनीतिक वातावरण बनाउने र सुरक्षा लगायतका विषयमा ध्यान नदिने हो भने तोकिएको मितिमा निर्वाचन हुने सम्भावना क्षीण बन्न सक्ने भएकाे छ।





प्रतिक्रिया दिनुहोस्