काठमाडाैं। नेपाली कांग्रेसले तोकिएको मितिमा निर्वाचन सम्पन्न गराउनका लागि प्रधानमन्त्री सुशीला कार्कीलाई तत्काल प्रमुख दलका शीर्ष नेताहरुसँग संवाद गर्न आग्रह गरेकाे छ।
सिंहदरवारमा साेमबार प्रधानमन्त्री कार्कीले बोलाउनुभएको निर्वाचन सम्बन्धि सर्वपक्षीय बैठकमा कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले यस्ताे आग्रह गर्नुभएकाे हाे। उहाँले राजनीतिक दल र त्यसका नेताहरुमाथि दुश्मनी साँधेर निर्वाचन सम्पन्न गराउन नसकिने भएकाले प्रधानमन्त्री कार्कीले त्यसका लागि आवश्यक वातावरण बनाउनका लागि राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्न ढिलाई गर्न नहुने बताउनुभयो । उहाँले निर्वाचनको लागि आवश्यक सुरक्षाको वातावरण बनाउन पनि सरकारलाई सुझाव दिनुभएकाे छ।
विगतमा नेपाली काँग्रेसको नेतृत्वमा धेरै चुनाव भएको र त्यो निष्पक्ष भएकाले दावी गर्दै वर्तमान सरकारले पनि सोही अनुसार निर्वाचन गराउने गरी काम गर्नुपर्नेमा उहाँले जाेड दिनुभयाे। उहाँले सरकारले निर्वाचन नभई अन्य काममा ध्यान दिएको भन्दै आपत्ति समेत जनाउनुभएकाे छ। तोकिएकै मितिमा निर्वाचन नगराए मुलुकमा सरकारको वैद्यतामाथि नै प्रश्न उठने भएकाले त्यसतर्फ सरकार सचेत हुनुपर्ने सहमहामन्त्री यादवको भनाइ थियो।
सहमहामन्त्री यादवले लोकतन्त्रमा राजनीतिक दलहरुलाई बेवास्ता गरेर कुनैपनि गतिविधि अघि बढाउन नसकिने पनि बताउनुभएकाे छ।





प्रतिक्रिया दिनुहोस्