Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


बंगलादेशमा हत्या गरिएका विद्यार्थी नेताको अन्त्यष्टि


390
Shares

काठमाडौं ।

बंगलादेशमा गत साता गोली हानी हत्या गरिएका इन्क्लाव मञ्चका नेता शरीफ उस्मान हादीका हत्यारालाई पक्राउ गर्न २४ घण्टाको अल्टिमेटम दिइएको छ ।

ढाका विश्वविद्यालय परिसरमा हादीको शवको अन्त्यष्टीका क्रममा अन्तरिम सरकारलाई २४ घण्टाको अल्टिमेटम दिइएको हो । अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुस, विभिन्न राजनीतिक दलका नेता र हादी समर्थकको मानव सागरलाई सम्बोधन गर्दै मञ्चका सचिव अब्दुल्लाह अल जाबेरले ‘हत्यारा समात्न सरकारले के गरिरहेको छ ?’ भन्दै प्रश्न गरेका थिए ।

हत्यारा २४ घण्टाभित्र पक्राउ नपरे गृह मामिला सल्लाहकार मोहम्मद जब्बार आलम चौधरी र मुख्य सल्लाहकारका विशेष सहायक खुदा बख्स चौधरीले तत्काल राजीनामा दिनुपर्ने पनि चौधरीले चेतावनी दिएका छन् ।

ढाकाको एक मस्जिदबाट बाहिर निस्किंदै गर्दा गोली लागी घाइते भएका हादीलाई उपचारका लागि सिंगापुर लगिएकोमा सिंगापुरमै उनको निधन भएको थियो । उनको शव गत शुक्रबार सिंगापुरबाट ढाका ल्याइएको थियो । हादीमाथि गोली हान्ने ब्यक्तिको पहिचान नभए पनि उनी भागेर भारत पुगिसकेको आरोप लगाइएको छ ।

जसका कारण हादीका समर्थकहरुले भारत विरुद्ध आक्रोश ब्यक्त गरिरहेका छन् । हादीका भाइ अबू बक्र सिद्दिकीले राजधानीमा दिउँसै गोली हान्ने हत्यारा कसरी फरार भयो ? भन्ने प्रश्न समेत गरेका थिए । बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी), जमात–ए–इस्लामी र नेसनल सिटिजन्स पार्टी (एनसीपी) का नेताहरु पनि अन्तिम संस्कारमा सहभागी थिए ।

फेब्रुअरी १२ का लागि तयर भएको आमनिर्वाचन नजिकिंदै जाँदा हादीको हत्या हुँदा बंगलादेशमा राजनीतिक अन्यौल फेरि चुलिएको छ । हादी आमनिर्वाचनमा ढाका–८ बाट सम्भावित उमेदवार थिए ।