Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


रूस–अफ्रिका दोस्रो मन्त्रीस्तरीय सम्मेलन कायरोमा शुरु


117
Shares

एजेन्सी ।

रूस–अफ्रिका साझेदारी फोरमको दोस्रो मन्त्रीस्तरीय सम्मेलन इजिप्टको राजधानी कायरोमा शुरु भएको छ ।

यस सम्मेलनमा रूस, ५० भन्दा बढी अफ्रिकी देशहरूका प्रतिनिधिहरू र विभिन्न क्षेत्रीय संगठनहरूको सहभागिता रहेको छ । इजिप्टका विदेशमन्त्री बाद्र अब्देलात्तीले राष्ट्रपति अब्देल फत्ताह अल–सिसीको तर्फबाट सम्मेलनको उद्घाटन गर्दै यो बैठकले रूस–अफ्रिका सम्बन्धको निरन्तर विकासलाई प्रतिबिम्बित गर्छ र साझा हितहरूको सेवा गर्दै अफ्रिकामा सुरक्षा, स्थिरता र विकासलाई प्रवद्र्धन गर्ने लक्ष्य राख्छ ।

उहाँले अन्तर्राष्ट्रिय व्यवस्थाको सुधार न्याय र सन्तुलनका सिद्धान्तहरूमा आधारित हुनुपर्ने र वास्तविक बहुपक्षीयताको प्रतिबिम्ब हुनुपर्नेमा जोड दिनुभयो ।

अफ्रिकाको जनसांख्यिक, आर्थिक र राजनीतिक तौललाई ध्यानमा राख्दै प्रमुख अन्तर्राष्ट्रिय निर्णयहरूमा अफ्रिकाको प्रभावशाली आवाज हुनुपर्ने उहाँको भनाइ थियो । अब्देलात्तीले अफ्रिकी देशहरू र तिनका अन्तर्राष्ट्रिय साझेदारहरूबीच नियमित राजनीतिक संवादले आपसी समझदारी मजबुत बनाउने, विश्वास बढाउने र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा समन्वय गर्ने बताउनुभयो ।

रूसी राष्ट्रपतिको प्रतिनिधित्व गर्दै विदेशमन्त्री सर्गेई लावरोभले अफ्रिकी देशहरूमा ठूलो आर्थिक र मानवीय सम्भावना रहेको र ती अन्तर्राष्ट्रिय राजनीतिमा बढ्दो महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्नुभयो । लावरोभले रूसले अफ्रिकी राष्ट्रहरूसँग आपसी सम्मानमा आधारित मैत्रीपूर्ण सम्बन्ध र साझेदारीलाई विशेष महत्व दिएको दोहोर्‍याउनुभयो । विभिन्न क्षेत्रमा रचनात्मक सहयोगको ढाँचालाई पुनर्जीवित गर्ने प्रयासहरू सफल भएको उहाँले बताउनुभयाे ।

रूसी विदेशमन्त्रीले मस्कोले अफ्रिकी देशहरूलाई राष्ट्रिय सुरक्षा मजबुत बनाउन, खाद्य सुरक्षा चुनौतीहरू सम्बोधन गर्न, आतंकवाद र चरमपन्थविरुद्ध लड़्न तथा वातावरणीय विपद् र ठूला महामारीहरूको सामना गर्न निरन्तर समर्थन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सम्मेलन इजिप्टका विदेशमन्त्री बाद्र अब्देलात्ती, रूसी विदेशमन्त्री सर्गेई लावरोभ र अफ्रिकी संघका वर्तमान अध्यक्ष राष्ट्र अंगोलाका विदेशमन्त्री टेटे एन्टोनियोको संयुक्त अध्यक्षतामा चलेको छ । यसले २०२३–२०२६ को कार्ययोजनाको कार्यान्वयनको समीक्षा गर्दै २०२६ को तेस्रो रूस–अफ्रिका शिखर सम्मेलनको तयारीमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।