Logo १५ पुस २०८२, मंगलबार | Wed Dec 31 2025


कांग्रेस नेता विश्वकर्माद्वारा कुनै पनि लाभको पद नलिने घोषणा


130
Shares

काठमाडौं

पुस्तान्तरण र रुपान्तरणमा जोड दिँदै नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्राध्यापक मानबहादुर विश्वकर्माले कुनै पनि लाभको पद नलिने घोषणा गर्नुभएको छ ।

जेन–जी आन्दोलनको भावनालाई सम्मान गर्दै उहाँले आगामी फागुन २१ गते हुने संघीय निर्वाचनको प्रत्यक्ष तथा समानुपातिक र राष्ट्रिय सभामा समेत उम्मेदवारी नदिने बताउनुभएको छ ।

पार्टीले दिएको जिम्मेवारीबाट आफू पूर्ण सन्तुष्ट रहेको हुँदा अब नयाँ र युवा पुस्तालाई अवसर दिनुपर्ने भन्दै उहाँले आफूलाई सिफारिस नगर्न नेपाली कांग्रेस जिल्ला कार्यसमिति अर्घाखाँचीलाई आग्रह गर्नुभएको हो ।

आगामी निर्वाचनका निम्ति जिल्लामा उम्मेदवार सिफारिस गर्ने प्रक्रिया चलिरहेको बेला प्राध्यापक विश्वकर्माले जिल्ला कार्यसमितिको बैठकमा धारणा राख्दै ञमलाई कुनै पनि लाभको पदमा सिफारिस नगर्नुहोस् । जिल्लाबाट नयाँ र योग्य उम्मेदवारलाई सिफारिस गर्नुहोस्, पार्टीका उम्मेदवारलाई जिताउन मेरो तर्फबाट पूर्ण सहयोग रहनेछ,झ भन्नुभयो ।

लाभको पदमा नबसे पनि संगठन निर्माण र सुदृढीकरणका निम्ति पार्टीको आन्तरिक जीवनमा भने आफू पूर्ण सक्रिय रहने उहाँको भनाइ छ । आफ्नो यस घोषणाले युवा पुस्तामा सकारात्मक ऊर्जा प्रवाह गर्ने र संगठनको सुदृढीकरणमा बल पुग्ने उहाँको अपेक्षा छ ।

दोस्रो जनआन्दोलन पश्चात् वि.सं.२०६३ सालमा वातावरण, विज्ञान तथा प्रविधि राज्यमन्त्रीसमेत रहनुभएका प्राध्यापक विश्वकर्मा वि।सं। २०६४ सालमा अर्घाखाँची क्षेत्र नम्बर १ बाट संविधान सभा सदस्यका लागि नेपाली कांग्रेसको उम्मेदवार बन्नुभएको थियो । त्यस्तै वि।सं। २०७० मा संविधान सभा सदस्य र वि।सं।२०७४ मा प्रतिनिधि सभा सदस्य हुनुभयो ।

उहाँ नेपाली कांग्रेसको ११औं महाधिवेशनदेखि लगातार तीनपटक निर्वाचित केन्द्रीय सदस्य र १४औं महाधिवेशनमा मनोनित केन्द्रीय सदस्य भई दुई दशकभन्दा लामो समयदेखि पार्टीको केन्द्रीय राजनीतिमा सक्रिय हुनुहुन्छ । ११औं महाधिवेशनपछि गिरिजाप्रसाद कोइराला सभापति रहँदा उहाँ पार्टीको केन्द्रीय प्रशिक्षण विभाग प्रमुख रहनुभएको थियो ।

त्यस्तै पार्टीको भ्रातृ संस्था नेपाल दलित संघको संस्थापक सभापतिसमेत रहनुभएका प्राध्यापक विश्वकर्माले दलित समुदायको उत्थान र सामाजिक न्यायका लागि निरन्तर संघर्ष गर्दै आउनुभएको छ ।