Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


कवाड मजदुरमाथि भइरहेको कुटपिट राेक्न कवाड व्यवसायीहरुको माग


91
Shares

काठमाडौं ।
कवाड व्यवसायीहरुले कवाड मजदुरमाथि भइरहेको कुटपिट, अपहरण, ज्यादती तथा संरचना भत्काउने कार्य तत्काल रोक्न माग गरेका छन् ।

कवाड व्यवसायी संघर्ष समितिले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो माग गरेको हो । समितिले काठमाडौं महानगरपालिकाले कवाड संकलन व्यवसायी, मजदुर तथा गरिब वर्गमाथि विगत दुई वर्षदेखि अन्यायपूर्ण दमन गरिरहेको आरोप समेत लगाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै कवाड व्यवसायी संघर्ष समितिका प्रतिनिधि ओमप्रकाश सिंहले कवाड व्यवसायीहरूले मुलुकमा सञ्चालित धातुजन्य उद्योगका लागि आवश्यक कच्चा पदार्थ आपूर्ति गर्दै आएको भएपनि काठमाडौं महानगरपालिकाले व्यवसायीमा अन्याय गरिरहेको बताउनुभयो ।

उहाँले कवाड व्यवसायले देशको व्यापार घाटा घटाउन, राजश्व संकलन बढाउन र वातावरणीय सरसफाइमा समेत महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको दाबी गर्नुभयो । उहाँले संविधानले सुनिश्चित गरेको व्यवसाय गर्न पाउने अधिकारको ग्यारेन्टी गर्न, कवाड मजदुरमाथि भइरहेको कुटपिट, अपहरण, ज्यादती र संरचना भत्काउने कार्य तत्काल रोक्न तथा यसमा संलग्न महानगर प्रहरी र जिम्मेवार व्यक्तिमाथि कानूनी कारबाही गर्न माग गर्नुभयो ।

साथै कवाड संकलन मजदुरको जिउधनको सुरक्षा सुनिश्चित गर्न सरकारसँग तत्काल कदम चाल्न तथा विस्थापित कवाड व्यवसायीहरूको रोजगारी सुनिश्चित गर्न पनि माग गर्नुभयो ।

उहाँले काठमाडौं महानगरद्वारा पीडित बनाइएका फुटपाथ व्यवसायी तथा अन्य साना व्यवसायीहरुलाई समेत आफूहरुसँग सहकार्य गर्न आह्वान गर्नुभयो । उहाँले सरकारले आफूहरुका मागहरु यथाशक्य सम्बोधन नगरे जेनजी पुस्तासँगको सहकार्यमा आन्दोलनका थप कार्यक्रमहरु अगाडि बढाउने चेतावनी समेत दिनुभयो ।