Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन


91
Shares

काठमाडौं ।

अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले योग र ध्यानलाई समाजमा फैल्याउनसके भ्रष्टाचार हट्नसक्ने बताउनुभएको छ ।

विश्व ध्यान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मनलाई शुद्ध पार्नुपर्ने अहिलेको आवश्यकता भएको उल्लेख गर्नुहुँदै मन शुद्ध बनाउने कुरा योग र ध्यान भएको बताउनुभयो । मन शुद्ध नभए लोभ, लालसा, घमण्ड पैदा हुने र भ्रष्टाचार मौलाउने बताउनुभयो ।

भ्रष्टाचार हटाउने औषधि बन्न नसक्ने तर योगले मन शुद्ध बनाउने भएकाले भ्रष्टाचार हट्नसक्ने बताउनु भयो । योग ध्यानलाई गाउँगाउँमा पुर्‍याउनको लागि सबैले प्रयास पनि आग्रह गर्नुभयो । योग, ध्यानको कुरा विद्यालयमा अतिरिक्त क्रियाकलापको माध्यमबाट पुर्‍याउन आफूले निर्देशन दिइसकेको बताउनुभयो ।

योग र ध्यान पढाउने नभइ गराउने विषय भएको र विद्यालयमा शुक्रवारको दिनलाई पढाउने नभइ अतिरिक्त क्रियाकलप गर्ने दिनको रुपमा अघि बढाउनेबारे कुरा उठाएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, मनलाई शुद्ध गर्नुपर्ने ठूलो आवश्यकता छ । मन शुद्ध भएन भने मनमा अनेकौँ किसिमका लोभ, लालसा, घमण्ड धेरै चिजहरु बढ्छन् । त्यो बढ्यो भने भ्रष्टाचार मौलाउने एउटा राम्रो माध्यम बन्छ । जतिपनि भ्रष्टचारीहरु छन् भन्छाैँ हामी उनीहरुको मन भ्रष्ट छ, शुद्ध छैन । उनीहरुमा घमण्ड छ, लोभ लालसा छ । यस्तो किसिमको लोभ, लालसा, घमण्डीपना, भ्रष्टाचारीहरु जुन छ, यसलाई हटाउनको लागि औषधि खुवाएर नहुने देखियो ।

त्यसको औषधि बनेको पनि छैन । बन्दा पनि बन्ने छैन । तर त्यसको औषधिको रुपमा योग, ध्यानलाई हामीले हाम्रो समाज समाजमा फैल्याउन सक्नुपर्छ । टोलटोलमा फैल्याउनसके भ्रष्टाचार हट्ने ठूलो सम्भावना देखेको छु । भ्रष्टाचारीहरुको मनलाई पनि घमण्डीहरुको मन, लोभीपापीहरुको मनलाई पनि शुद्ध गर्ने एउटा माध्यमको रुमपा देखेको छु । योग ध्यानलाई गाउँगाउँमा पुर्‍याउनको लागि सबैले प्रयास गरौँ ।

योग, ध्यान गर्ने कुराहरुलाई पनि विद्यालय विद्यालयमा पुर्‍याउन पनि अतिरिक्त क्रियाकलापको माध्यमबाट हरेक विद्यालयमा पुर्‍याउने काममा लागेको छु । अतिरिक्त क्रियाकलापमध्ये योगलाई राख्न पनि निर्देशन दिइसकेको छु । योग विषय भनेको पढाउने कुरा होइन, गराउने कुरा हो । विद्यालयमा शुक्रवारको दिनलाई पढाउने होइन, अतिरिक्त क्रियाकलपअन्तर्ग अघि बढाउने कुरा उठाएको छु ।’ मन्त्री पुनले ध्यान र योग गर्नु भनेको मनलाई शान्ति र शुद्ध गर्नु रहेको बताउनुभयो ।