एजेन्सी। अमेरिकाको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले डाइभर्सिटी भिसा (डिभी) चिठ्ठा कार्यक्रम तत्कालका लागि स्थगित गर्न आदेश दिनुभएकाे छ।
आन्तरिक सुरक्षा प्रमुख क्रिस्टी नोमले बिहीबार ढिलो गरी यसको पुष्टि गर्दै साेही कार्यक्रमका कारण अमेरिकी सुरक्षामा खतरा पुगेको दावी गर्नुभएकाे हाे। विश्वविद्यालयमा गोली चलाउने सन्दिग्ध व्यक्ति सोही कार्यक्रममार्फत अमेरिका प्रवेश गरेको खुलेपछि राष्ट्रपति ट्रम्पले यस्तो कदम चाल्न निर्देशन दिनुभएकाे हाे।
सुरक्षा प्रमुख नोमका अनुसार सन् २०१७ मा डिभीमार्फत अमेरिका आएका ४८ वर्षीय पोर्चुगिज नागरिकले उक्त गोलीकाण्ड मच्चाएका थिए। ती व्यक्ति करिब दुई दशक अघि ब्राउन विश्वविद्यालयकै विद्यार्थी रहेको र पछि सोही कार्यक्रम अन्तर्गत ग्रीन कार्ड समेत प्राप्त गरेको पाइएको छ। सुरक्षा प्रमुख नोमले यस्ता व्यक्तिहरूलाई देशमा प्रवेश अनुमति दिनु नै घातक भएको बताउनुभयाे। अमेरिकी प्रशासनले यूएससीआईएसलाई निर्देशन दिँदै ’डिभी-१’ कार्यक्रममा तत्काल रोक लगाएको छ।
गत हप्ता ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको थियो। ९ जना भने घाइते भएका थिए। आक्रमणपछि फरार रहेका ती सन्दिग्ध बिहीबार न्यू ह्याम्पसायरको एक भण्डारण गृहमा मृत फेला परेका छन्। सन् १९९० को दशकमा अमेरिकी संसदले शुरु गरेको डिभी कार्यक्रमले अमेरिकामा आप्रवासी दर कम भएका देशका नागरिकलाई वार्षिक ५० हजार भन्दा बढी भिसा उपलब्ध गराउँदै आएको छ।
ट्रम्प प्रशासनको यो पछिल्लो निर्णयलाई कानूनी चुनौती दिइने सम्भावना समेत देखिएको हाे।





प्रतिक्रिया दिनुहोस्