Logo ४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025


९०१ अर्ब डलरको रक्षा नीति विधेयक अमेरिकी सिनेटबाट पारित


130
Shares

एजेन्सी। अमेरिकी सिनेटले आर्थिक वर्ष सन् २०२६ का लागि ९ सय १ अर्ब डलरको राष्ट्रिय रक्षा प्राधिकरण ऐन (एनडीएए) पारित गरेको छ।

साेही विधेयक अब राष्ट्रपति डोनाल्ड ट्रम्पको टेबुलमा हस्ताक्षरका लागि पुगेको हाे । विधेयक ७७-२० मतले पारित भएको छ। जसमा दुवै पार्टीको व्यापक समर्थन देखिएको हाे। हाउस र सिनेटले आफ्ना छुट्टाछुट्टै संस्करणहरूलाई मिलाएर यो सम्झौता संस्करण तयार पारेका थिए। जसलाई हाउसले गत हप्ता पारित गरेको थियो । ३ हजार पृष्ठभन्दा बढी लामो यो विधेयकमा सैनिकहरूलाई करिब ४ प्रतिशत तलब वृद्धि, पेन्टागनको हतियार खरिद प्रक्रियालाई तिब्र बनाउने सुधार, अमेरिकी गोल्डेन डोम मिसाइल रक्षा प्रणालीको विकास र सैन्य तयारीलाई बढावा दिने प्रावधानहरू समावेश छन्।

विधेयक अनुसार ट्रम्प प्रशासनले दुई वर्षका लागि वार्षिक ४ सय मिलियन डलर गरी कूल ८ सय मिलियन डलर युक्रेनलाई हतियार उत्पादनका लागि छुट्याएको छ । जसले युरोप र दक्षिण कोरियामा अमेरिकी सैनिक संख्या घटाउन सहयोगी देशहरूसँग परामर्श अनिवार्य गरेको हाे । यस बाहेक विधेयकले जहाज निर्माणका लागि २६ अर्ब डलर, विमानका लागि ३८ अर्ब डलर र गोला–बारुद उत्पादन बढाउन २५ अर्ब डलर छुट्याएको छ।

विधेयकले पेन्टागनका विविधता, समानता र समावेशिता (डीईआई) कार्यालयहरू खारेज गर्ने, जलवायु सम्बन्धी खर्चमा १ दशमलव ६ अर्ब डलर कटौती गर्ने, १९९१ देखि २००२ का इराक युद्ध प्राधिकरणहरू खारेज गर्ने र सिरियामाथि अमेरिकी प्रतिबन्धहरू स्थायी रूपमा हटाउने प्रावधान राखेको हाे। राष्ट्रपति ट्रम्पले आगामी दिनमा यो विधेयकमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ।