काठमाडौं । भैरहवा विमानस्थलमा बाक्लो हुस्सु लागेका कारण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भरतपुर हुँदै रुपन्देहीतर्फ लगिएको छ।
लामिछाने सवार बुद्ध एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केही समय खघि मात्रै चितवनको भरतपुर उडेको हाे । केन्द्रीय कारागारका डीएसपी जेसी शाहले लामिछानेलाई विमानमा लिएर जानुभएकाे छ। शुक्रबार बिहान ८ बजे नै विमानस्थलमा उपस्थित गराइए पनि भैरहवाको मौसम नखुलेका कारण लामिछाने लामो समय विमानस्थलमा रोकिनुपरेकाे थियाे।
सहकारी ठगीको अभियोगमा थुनामा रहेका लामिछाने शुक्रबार रिहा हुने भएका छन् । उच्च अदालत बुटवल इजलासको आदेश अनुसार आवश्यक कागजी प्रक्रिया पूरा गरी शुक्रबार लामिछाने रिहा हुने भएका हुन् । लामिछाने आफैं रुपन्देही जिल्ला अदालतमा उपस्थित हुनुपर्ने भएका कारण बिहीबार रिहा हुन सकेका थिएनन् ।उच्चका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले बिहीबार लामिछानेलाई ३ वटा सर्तसहित थुनामुक्त गर्न आदेश दिएको थियो। आदेशको अन्तिम बुँदामा बिगोको हकमा दायित्व सिर्जना भए तिर्न–बुझाउन मन्जुर हुने कागज गराउनुपर्ने उल्लेख गरिएको छ।
उक्त आदेश अनुसार लामिछानेलाई कागज गराएर मात्र रिहा गर्न सकिने रुपन्देही जिल्ला अदालतल जनाएको हो। उच्चको पत्र प्राप्त भएपछि बैंक जमानतको प्रमाणीकरण र सनाखतसहित कागजी प्रक्रिया पूरा गरिने भएको छ। लामिछाने हाल ललितपुरस्थित नख्खु कारागारमा थुनामा रहेका छन् । बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धी मुद्दामा लामिछाने यसअघि २०८१ साल माघमा राखेको १ करोड रुपैयाँ धरौटी पुनः राख्नुपर्ने भएको छ। सोही धरौटी रकम यसअघि फुकुवा भइसकेको र त्यसको बारेमा उनका कानून व्यवसायीलाई जानकारी गराइसकिएको अदालतले जनाएको हो।
बिगोको हकमा दामासाहीले पर्ने रकम सुनिश्चित गर्ने भन्दै लामिछानेले बैंक जमानतसहित उच्चमा निवेदन दिएका थिए । उच्चले उक्त बैंक जमानतलाई सर्तसहित स्वीकार गरेको छ । निवेदनसँग पेश गरिएको २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत प्रमाणीकरण र सनाखत गरिने अदालतले जनाएको हो ।
अदालतको आदेश बमोजिम सम्पूर्ण प्रक्रिया पूरा भएपछि मात्र लामिछानेलाई थुनामुक्त गरिने कारागार व्यवस्थापन विभागले जनाएको छ।





प्रतिक्रिया दिनुहोस्