काठमाडाैं। राष्ट्रिय सभाका सांसदहरुले सरकारले आफूहरुको मानहानी गर्ने काम गरिरहेको आरोप लगाएका छन्।
सिंहदरबारमा मंगलबार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्योजित विधायन समितिको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद पदमबहादुर परियार, नेकपा एमालेकी सांसद सुमित्रा बिसी र नेपाली कम्युनिष्ट पार्टीकी सांसद मदनकुमारी साहले सरकारले संसद र सांसदहरुको मानहानी हुनेगरी न्यूनतम सेवा, सुविधा समेत कटौती गर्ने काम गरेको भन्दै आपत्ति जनाएका छन्।
कांग्रेस सांसद परियारले सरकारले सांसदहरुको खर्च कटौती गरेर आफूहरुले विकासको काम गरेको भन्दै निर्वाचनका लागि राजनीति गरिरहेको आरोप समेत लगाउनुभयो। साथै नेपाली कम्युनिष्ट पार्टीकी सांसद साहले राष्ट्रिय सभालाई कमजोर बनाउने काम सरकारले गरिरहेको गुनासो गर्नुभएकाे छ। उहाँले संसद र सांसदहरुको सेवा-सुविधा कटौती गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै आक्रोश व्यक्त गर्नुभयो।
सांसदहरुले ठूल्ठूलो योजना बनाउने तर त्यसका लागि आवश्यक बजेट नदिएको पनि सरकारप्रति असन्तुष्टि पनि व्यक्त गरेका छन्। त्यसैगरी एमालेकी सांसद बिसीले सुदूरपश्चिम प्रदेशका ठूल्ठूला आयोजना सम्पन्न हुनेगरी तत्काल आवश्यक बजेटको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो।
बैठकमा सुदूरपश्चिम प्रदेशमा सांसदहरुले गरेका अनुगमनको समेत समीक्षा गरिएको थियो।





प्रतिक्रिया दिनुहोस्