काठमाडाैं। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनबाट राजनीतिक दल किन्तु-परन्तु भनेर पछि-हट्ने अवस्था नरहेको बताउनुभएको छ।
सरकारसँग निर्वाचन आयोगले मंगलबार गरेको छलफलका क्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कसैको कारणले निर्वाचन बिथोलियो भनेर अरुलाई आक्षेप लगाएर मुक्त हुने अवस्था नरहेको भन्दै निर्वाचन गराउन सबै लाग्नुपर्ने बताउनुभयो। आगामी फागुन २१ गतेका लागि सरकारले तोकेको निर्वाचन विकल्प विहीन निर्वाचन भएको उहाँले दावी गर्नुभएकाे छ।
हरेक क्षेत्र, तह र तप्काबाट गहन रुपमा लिएर निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व रहेको उहाँले बताउनुभयो । सामाजिक सञ्जाललाई कति हदसम्म प्रचारप्रसार गर्न दिने र नकारात्मक प्रचारप्रसार गर्दा कसरी नियन्त्रण गर्ने भन्ने बारेमा सरकारले सोच्न जरुरी रहेको उहाँकाे भनाइ छ। एआई प्रविधिको दुरुपयोगकाे बारेमा पनि सरकारले गहन रुपमा छलफल गर्न जरुरी रहेको उहाँले बताउनुभयो।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले मतदाता नामावली उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको र पुसको १५ गतेसम्म अन्तिम मतदाता नामावली प्रकाशन गर्ने बताउनुभयो । सबै राजनीतिक दलहरु समेत प्रतिष्पर्धामा सहभागी हुनका लागि निर्वाचनको लक्षित दायरामा प्रवेश गरेर निर्वाचनमा जाने बताइसकेकाले निर्वाचनको वातावरण बनिसकेको उहाँकाे भनाइ छ।
मुलुक निर्वाचनमय भइसकेको उहाँले दावी गर्नुभयो । समयमै निर्वाचन हुने र निर्वाचनको विकल्प नभएको समेत उहाँकाे दावी छ।





प्रतिक्रिया दिनुहोस्