Logo २४ माघ २०८२, शनिबार | Sat Feb 7 2026


प्रदेश सरकारमा ३ जना मन्त्री भए पुग्छः नेता पौडेल


286
Shares

काठमाडाैं। नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले प्रदेश सरकारमा ३ जना मन्त्री भए पुग्ने बताउनुभएको छ।

काठमाडाैंमा मंगलबार आयोजित एक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो। उहाँले नेपालको प्रशासनिक संरचनालाई पूर्ण रुपमा डिजिटलाईज गर्नुपर्नेमा जोड दिनुभयो। संघीयतालाई कम खर्चिलो बनाउन डिजिटलाईजेशन गर्नुपर्ने उहाँको भनाइ छ। उहाँले प्रदेशमा मुख्यमन्त्री, वित्तियमन्त्री र प्रशासनमन्त्री भए हुने बताउनुभयाे। संघीयता हटाउनु समाधान नभई छरितो बनाउनु आजको आवश्यकता भएकाे उहाँकाे भनाइ छ। संघीयता छरितो बनाउनको लागी चालु खर्च घटाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

चालु खर्च कम गर्नको लागि सरकारी संरचनालाई डिजिटलाईजेशन गर्नुको विकल्प नभएको उहाँले बताउनुभयो। प्रशासनिक संरचनालाई पूर्णरुपमा डिजिटलाईज गर्नसके नेपालको चालु खर्च दुई तिहाई कटौती हुने उहाँको दावी छ। प्रविधि विकास र नागरिकको स्वतन्त्रता पनि जोडिएको उहाँले बताउनुभयो। प्रविधिको प्रयोगलाई सिर्जनात्मक रुपमा प्रयोग गर्न कानूनी स्पष्टता जरुरी रहेको उहाँको भनाइ छ। कानून निर्माण गर्दा नागरिकको स्वतन्त्रता हनन हुनेगरी गर्न नहुनेमा पनि उहाँले स्पष्ट पार्नुभयो।

नेता पाैडेलले सामाजिक सञ्जाललाई नेपालमा दर्ता गर्ने कुरामा समस्या नरहेपनि दर्ताको नाममा बन्द गरिने कार्य भने सह्य नहुने बताउनुभयो। नागरिकको स्वतन्त्रता हनन् हुनेगरी कुनै कानून बनाउन नहुने उहाँको भनाइ छ।