१६ मंसिर २०८०, शनिबार | Sat Dec 2 2023


अब मन्त्री र नेताहरुबाटै रक्तदानको अभियान सुरु गर्नुपर्छ : राज्यमन्त्री अर्याल


0
Shares

शनिबार ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा रगत दिने र लिने व्यक्ति तथा व्यवस्थापन गर्ने संघ–संस्थाबीच भएको एक दिवसीय अन्तरक्रियामा बोल्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन् ।

‘अहिले पनि रगत दिनु भनेको डरलाग्दो कुरा भएको भन्ने भ्रम छ, यो भ्रमलाई चिर्न जरुरी छ’–उनले भनिन्–रगत दिँदैमा मान्छे कमजोर हुँदैन भन्ने कुरामा विश्वास दिलाउन आवश्यक छ । यसका लागि राजनीतिक दलबाटै अभियान चलाउनुपर्छ ।’

रगत अभाव हुन नदिन संकलन तथा व्यवस्थापनमा विशेष ध्यान दिनुपर्नेमा उनको जोड थियो ।

‘रगत अभाव हुन नदिनका लागि हामी रणनीति बनाउँछौं, सातओटै प्रदेशबाट रगत संकलन र स्टक राख्ने व्यवस्था गरेर रगत अभाव हुन दिँदैनौं’–उनले भनिन् ।

अहिलेसम्म आफूले जम्मा ६ पटकमात्रै रक्तदान गरेको सुनाउँदै मन्त्री अर्यालले भनिन्–‘मलाई रगतकै समस्या भएकाले अहिलेसम्म धेरै थोरैपटकमात्रै रक्तदान गरेकी हुँ ।’

मेडिसिटी अस्पतालका अध्यक्ष, गैरआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा. उपेन्द्र महतोले रक्तदान जीवनदानमात्रै नभएर समृद्धिको अभियान भएको बताए ।

महतोले जीवनमा दान गर्दा जत्तिको आनन्द अरु केहीमा पनि नमिल्ने बताए ।

‘दान गर्न धन चाहिँदैन, ठूलो मन भए पुग्छ, पैसा र पदले समाज र राज्यको ऋण तिर्न सकिँदैन, केही दिन नसकेपनि वर्षमा एकपटक रक्तदान गर्न सकिन्छ’–उनले भने ।

यो पृथ्वीमा जन्मिएपछि आफूहरुले आमा–बुवा, शिक्षक, चिकित्सक तथा सुरक्षाकर्मीलगायतको ऋण बोकेको सुनाउँदै डा. महतोले भने–‘यो ऋण हामीले कहिल्यैपनि तिर्न सक्दैनौं, तपाइँ जति ठूलो व्यक्ति हुनुहोस्, पैसा र पोजिसनले त्यो ऋण तिर्न सक्नुहुन्न ।’

आफूले लिएको त्यो ऋण तिर्ने एउटामात्रै उपाय भनेको समाजको लागि केही दिनु नै रहेको महतोको भनाइ छ ।

उनले भने–‘हामीले अहिलेसम्म समाजबाट लियौंमात्रै, दिन्छु भनेर धेरैले भनेको सुनिन्छ र प्रशंसापनि हुन्छ तर दिँदा कति मजा हुन्छ भन्ने कुरा त्यो दिनेलाईमात्रै थाहा हुन्छ ।’

नेपालको स्वास्थ्य सेवालाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउने आफ्नो लक्ष्य रहेको सुनाउँदै उनले मेडिसिटी एउटा अस्पतालमात्रै नभएर महाअभियानसमेत रहेको उल्लेख गरे ।

डा. महतोले भने–‘नेपाललाई अन्तर्राष्ट्रिय मेडिकल हबकारुपमा विकास गर्ने सपना देखेको छु, त्यो पनि राति होइन दिउँसै देखेको सपना हो । यो अभियान मेडिसिटी अस्पतालको सन्चालनसँगै सुरु भइसकेको छ । अब यसलाई सार्थक तुल्याउन मलाई देशका हरेक नागरिक, कर्मचारी र सरकारको साथ र सहयोग चाहिएको छ ।’

उनले आगामी तीनदेखि पाँच वर्षभित्रै नेपाललाई अन्तर्राष्ट्रिय मेडिकल हबकारुपमा चिनाउने अठोट सुनाए ।

उनले भने–‘यदि कसैको स्वास्थ्यमा समस्या भयो भने हामी स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्छौं र जीवन बचाउँछौं ।’

रक्तदानका लागि आफ्नो अस्पतालले सचेतनामूलक अभियान सन्चालन गर्न सहयोग र सक्रियतासहितको नेतृत्वदायी भूमिका निर्वाह गर्ने महतोको भनाइ थियो ।

कार्यक्रममा संयुक्तराज्य अमेरिकामा बस्ने गैरआवासीय नेपाली संघ (एनआरएनए)का नेता एवं १६३ पटक रक्तदान गरिसकेका रक्तदान अभियन्ता अर्जुनप्रसाद मैनालीले रक्तदानलाई जीवनदान भनेपनि नेपालमा रक्तदान गर्नेहरुको संख्या अत्यन्तै न्यून रहेको भन्दै दुखेसो पोखे ।

‘अहिलेको जनसंख्याअनुसार एक प्रतिशतलेमात्रै रगत दिने हो भने नेपालमा रगतको कुनै अभाव हुँदैन’–उनले भने–‘रगतको उचित व्यवस्थापन गर्न सक्यौं भने रगत नै नपाएर कसैले ज्यान गुमाउनुपर्दैन ।’

एनआरएनएको सहयोगमा आफूहरुले विश्वका विभिन्न २२ देशमा रक्तदान अभियान चलाउँदै आएको मैनालीले जानकारी दिए ।

कार्यक्रममा रक्तदाताहरु, रक्तदानसम्बन्धी विभिन्न संघ तथा संस्थाका प्रतिनिधिहरु, रगत लिने र दिने, र रगत व्यवस्थापन गर्नेहरुले आ–आफ्नो अनुभव सुनाएका थिए ।