काठमाडौँ । नेकपा (एमाले) को जारी ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज (मंगलबार)नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । केन्द्रीय निर्वाचन आयोगका अनुसार बन्दसत्र स्थल भृकुटीमण्डपमा दिउँसो १२ बजेदेखि साँझ ६बजेसम्म मतदान कार्यक्रम तय गरिएको छ ।
अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा उत्रिएका छन् । आयोगले सोमबार राति सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावलीअनुसार अध्यक्ष पदमा यी दुईबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो ।
महाधिवेशनमा यसपटक विद्युतीय भोटिङ मेसिन प्रयोग गरिँदै छ । केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा। विजय सुब्बाका अनुसार ल्याइएका १०० वटा मेसिनमध्ये ८० वटा मतदानका लागि प्रयोग हुनेछन् । बाँकी १० वटा अभ्यासका लागि र १० वटा अतिरिक्त मेसिनको रूपमा राखिएको छ ।
एक जना मतदाताले मतदान गर्न करिब २५ देखि ३० मिनेट समय लाग्ने अनुमान गरिएको छ । महाधिवेशनमा कुल २ हजार २६३ प्रतिनिधि सहभागी छन् । विद्युतीय मतदान प्रणालीको व्यवस्थापन रामलक्ष्मण इनोभेसन प्रालिले गरेको छ ।





प्रतिक्रिया दिनुहोस्