काठमाडाैं। सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त हुनुभएको छ।
सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषदकाे बैठकले योजना आयोगको उपाध्यक्षमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताउनुभएकाे हाे। उहाँका अनुसार आयोगको सदस्यमा प्रा.डा.सुनिति श्रेष्ठ नियुक्त हुनुभएको छ। प्रचलित कानूनमा व्यवस्था भएकोमा बाहेक सेवा प्रवाहको प्रक्रियामा कागजको आधिकारिताका लागि आइटिकटका रुपमा हुलाक टिकट टाँस्ने अभ्यास प्रचलन वा व्यवस्थालाई हटाउने निर्णय गरेको छ।
सरकारले सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन भएका भारतीय रुपैयाँ २ सय तथा भारतीय रुपैयाँ ५ सय दरका नोट नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भारतीय रुपैयाँ २५ हजारको सीमासम्म भारतबाट नेपालमा भित्र्याउन र नेपालबाट भारतमा लैजान सक्ने व्यवस्था गरेको बताउनुभयो। मन्त्री खरेलले विभिन्न राजनीतिक दल र सरोकारवालाहरुसँग वार्ता गर्नको लागि उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गर्ने निर्णय भएको बताउनुभयो।
संवाद समितिको संयोजकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा र सदस्यमा सञ्चार मन्त्री खरेल सदस्य रहेका छन्। मन्त्री खरेलले प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल सदस्य रहनुभएको बताउनुभयो ।





प्रतिक्रिया दिनुहोस्