काठमाडौं ।
बेलातयका आवासीय चिकित्सकहरूले न्यायोचित तलबवृद्धिको मागसहित फेरि पाँच दिने हडतालको आह्वन गरेका छन् ।
ब्रिटिश मेडिकल एसोसिएसन (बीएमए)ले चिकित्सकलाई दिइने तलब र काम गर्ने अवस्था सन्तोषजनक नरहेको भन्दै आउँदो बुधवारेदेखि पाँचदिने हड्तालको आह्वान गरेका हुन् ।
विश्वमै बेलायतको राष्ट्रिय स्वास्थ्य सेवालाई उत्कृष्ट मानिएपनि सरकारले सन् २०२५ मा गरिएको तलब वृद्धिपछि पनि रेजिडेन्ट डाक्टरहरूको तलब सन् २००८ को तुलनामा करिब २० प्रतिशत कम रहेको बीएमएको दाबी छ ।
ब्रिटिश मेडिकल एसोसिएसन (बीएमए) ले सन् २०२३ यता तलब र काम गर्ने अवस्था सम्बन्धी मागलाई लिएर इङ्ग्ल्यान्डमा चरणवद्ध हड्ताल आह्वान गर्दै आएको छ । पछिल्लो समय ‘सुपरफ्लू’ प्रकोपले आक्रान्त बनेको बेलायतमा तलबवृद्धिको मागसहित गत मार्च २०२३ देखि सुरु चिकित्सकहरूको हड्ताल यो १४औं हुनेछ। अघिल्लो महिना नोभेम्बर मध्यतिरमात्र उनीहरूले ५ दिनको हडताल गरेका थिए ।
सरकारले भने सीपीआई मापनको आधारमा रेजिडेन्ट डाक्टरहरूको हालको तलब न्यायोचित रहेको दाबी गरेको छ । यद्यपि, नफिल्ड ट्रष्ट नामक थिंक ट्यांकको विश्लेषणअनुसार सीपीआई प्रयोग गर्दा सन् २००८ यता तलब करिब ५ प्रतिशतले घटेको देखिन्छ भने आरपीआई प्रयोग गर्दा यो गिरावट झन्डै २० प्रतिशतसम्म पुग्छ । स्वास्थ्यमन्त्री वेस स्ट्रिटिङले डाक्टरहरूलाई सरकारको पछिल्लो प्याकेज स्वीकारेर हडताल फिर्ता लिन अपील गरेका छन्।





प्रतिक्रिया दिनुहोस्