काठमाडौं ।
हाँस्यकलाकार किरण केसी ‘रातामकै’को अग्रसरतामा पुनर्निर्माण गरिएको प्रहरी वृत्त सातदोबाटोको नवनिर्मित भवन प्रहरीलाई हस्तान्तरण गरिएको छ ।
गत भदाै २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा पूर्णरूपमा क्षतिग्रस्त बनेको भवन स्थानीय समुदायको आर्थिक तथा भौतिक सहयोगमा पुनर्निर्माण गरिएको हो । करिब ३ रोपनी क्षेत्रफलमा फैलिएको उक्त भवन कलाकार केसीकै पहलमा पुनःनिर्माण गरिएको हो ।
आइतबार बिहान आयोजित हस्तान्तरण समारोहमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, हाँस्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख ईश्वर कार्कीको उपस्थितिमा किरण केसीले समितिका सदस्यहरूसँगै भवन हस्तान्तरण गरे ।
कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक कार्कीले सुरक्षा सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै भवन पुनर्निर्माणमा योगदान पुर्याउने कलाकार केसी र स्थानीय समुदायलाई धन्यवाद दिए । महजोडीले पनि सामाजिक जिम्मेवारी निर्वाह गरेकोमा कलाकार केसीको प्रशंसा गरे ।
सो अवसरमा पुनर्निर्माणमा सहयोग पुर्याउने दाता तथा सहयोगीहरूलाई सम्मान गरिएको थियो ।





प्रतिक्रिया दिनुहोस्