Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


राष्ट्रपति सवार हेलिकोप्टर अवतरणका क्रममा समस्या, पांग्रा हेलिप्याडमा धँसियो


559
Shares

एजेन्सी ।

भारतकी राष्ट्रपति द्रौपदी मुर्मू सवार हेलिकोप्टर केरलामा अवतरणका क्रममा समस्यामा परेको छ ।

सबरीमाला मन्दिर भ्रमणका लागि जाँदै गर्दा हेलिकोप्टर अवतरण गरिएको हेलिप्याडको सतह कमजोर हुँदा हेलिकोप्टरको एक पांग्रा धँसिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

घटना केरलाको प्रमादम क्षेत्रमा बनेको अस्थायी हेलिप्याडमा भएको हो । अवतरणका क्रममा हेलिप्याडको कंक्रीट पूर्ण रूपमा सुक्न नसकेको र वजन थेग्न नसक्दा हेलिकोप्टरको पांग्रा जमिनभित्र धँसिएको बताइएको छ ।

घटनापछि सुरक्षा निकाय र प्राविधिक टोलीले तत्काल सतर्कता अपनाउँदै हेलिकोप्टरलाई सुरक्षित रूपमा बाहिर निकालेका थिए । यस घटनामा राष्ट्रपति मुर्मू पूर्ण रूपमा सुरक्षित रहेको र कुनै पनि मानवीय क्षति नभएको पुष्टि गरिएको छ ।

भारतीय सुरक्षा निकायले घटनालाई प्राविधिक समस्या र पूर्वतयारीमा कमजोरीका रूपमा लिएको छ । हेलिप्याड निर्माण तथा सुरक्षा मापदण्डबारे छानबिन गरिने जनाइएको छ । घटनापछि राष्ट्रपति मुर्मूको कार्यक्रम भने वैकल्पिक व्यवस्थामार्फत निरन्तर गरिएको बताइएको छ ।