Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


राष्ट्र बैंकले ३५ अर्ब निक्षेप खिच्दै


104
Shares

काठमाडाैं। नेपाल राष्ट्र बैंकले आइतबार १० दिनका लागि ३५ अर्ब निक्षेप खिच्दैछ।

अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले आइतबार फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कूल निक्षेप ७५ खर्ब भन्दा बढी पुगेको छ। केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ। बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदर अनुसार सबै भन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिनेछ । निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ। ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ। आइतबार बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज आगामी पुष ९ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ। बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कूल आह्वान रकमसम्म हुनेछ।

खासगरी केन्द्रीय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकता अनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्नसक्ने व्यवस्था छ।

यहि व्यवस्था टेकेर केन्द्रीय बैंकले पटक-पटक निक्षेप संकलन उकरण प्रयोग गर्दै आएको छ।