Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


राष्ट्र बैकका गभर्नर पौडेललाई बर्खास्त गर्न जेनजी युवाको माग

गभर्नर सम्बन्धी योग्यता र विज्ञता गभर्नर पौडेलसँग नभएको आराेप

364
Shares

काठमाडाैं। जेनजी युनाईटेडले नेपाल राष्ट्र बैकका गभर्नर डा. विश्वनाथ पौडेललाई बर्खास्त गर्न माग गरेको छ।

युनाईटेडको प्रतिनिधि टोलीले आईतवार सिहंदरबारमा अर्थमन्त्री रामेश्वर खनाललाई भेटेर गभर्नर पौडेललाई बर्खास्त गर्न माग गरेको हो। गभर्नर सम्बन्धी योग्यता र विज्ञता डा.पौडेलसँग नभएकोले बर्खास्त गर्न माग गरिएको जेनजी युनाईटेडको संयोजक जनक परियारले जानकारी दिनुभयो। गभर्नर नियुक्तिको लागी डा. पौडेलले पेश गरेको शैक्षिक प्रमाणपत्र, कार्यअनुभव, विषयविज्ञता नै गभर्नर हुन अयोग्य रहेको उहाँकाे दावी छ।

राजनीतिक भागबण्डाको आधारमा गभर्नर नियुक्त भएको उहाँको दावी थियाे। राजनीतिक दलको सदस्य भएको, सानिमा बैकको संस्थापक शेयरधनी भएको, तत्कालिन सरकारले गभर्नर नियुक्तिको लागी गठन गरिएको समितिको सदस्य रहेको, सदस्यबाट राजिनामा दिएर गभर्नर बनेपछि अख्तियारमा उजुरी परेको र सर्वोच्च अदालतमा मुद्दा परेको लगायतका कारण गर्भनर डा. पौडेललाई बर्खास्त गर्नुपर्ने जेनजी युनाईटेडको माग रहेको उहाँले बताउनुभयो।

राष्ट्र बैकको ऐन अनुसार राजनीतिक दलको सदस्य भएको व्यक्ति गभर्नर हुन पाइँदैन । त्यस्तै आर्थिक, मौद्रिक, बैकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित र वाणिज्य कानून विषयमा स्नात्तकोत्तर गरेको हुनुपर्नेछ। तर डा. पौडेलले कम्प्युटर इन्जिनियरिङमा स्नातक, रिसोर्स एग्रिकल्चरमा स्नात्तकोत्तर, एग्रिकल्चर रिसोर्स ईकोनोमिक्समा विद्यावारिधी गर्नुभएको छ।

जेनजी युनाईटेडले अर्थतन्त्र सुधारको लागी लगानीकर्ताको सुरक्षाको प्रत्याभूति दिलाउन, बिचौलियको चलखेल रोक्न, बैंक तथा वित्तीय संस्थाहरुले अनाधिकृत रुपमा लिएको व्याज ऋणीहरुलाई फिर्ता गर्न, वैदेशिक ऋणको दुरुपयोग गर्न रोक लगाउन, राजश्व अनुसन्धान र सम्पत्ति शुद्धिकरण विभागलाई जिम्मेवार बनाउन पनि अर्थमन्त्री खनालसँग माग गरेको छ।