काठमाडौं ।
नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन स्थलमा पार्टी अध्यक्ष केपी शर्मा ओली पुगेका छन्। अध्यक्ष ओली तीनवटा गाडीको सुरक्षा स्कर्टिङसहित महाधिवेशनस्थल प्रवेश गरेका हुन्। अध्यक्ष ओली कार्यक्रमस्थल प्रवेश गरेसँगै नेता तथा कार्यकर्ताहरूले नाराबाजी र ताली बजाउँदै भव्य स्वागत गरेका छन्।
महाधिवेशनस्थलमा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष, महासचिव, उपमहासचिव तथा अन्य पदाधिकारीहरू यसअघि नै पुगिसकेका थिए। देशका विभिन्न स्थानबाट आएका करिब ७० प्रतिशत जुलुस तथा र्यालीहरू महाधिवेशनस्थलमा आइपुगेका छन्।
महाधिवेशन स्थलमा दुवै दिशाबाट झण्डा र ब्यानरसहित ठुला–ठुला र्यालीसहित नेता–कार्यकर्ताहरू प्रवेश गर्ने क्रम जारी छ। उल्लेख्य सहभागिताका कारण तीनकुनेस्थित नेपाल ट्रष्टको मैदान पूरै भरिएको छ। अध्यक्ष ओलीले केही बेरमा औपचारिक रूपमा महाधिवेशनको उद्घाटन गर्ने कार्यसूची रहेको छ।
उता, औपचारिक उद्घाटनअघि नै सल्लाघारीस्थित तीनकुने क्षेत्र प्रतिनिधि, नेता तथा कार्यकर्ताहरूले भरिन थालेको छ। देशका विभिन्न क्षेत्रबाट आएका प्रतिनिधिहरूसहितका र्यालीहरू झण्डा र ब्यानरसहित महाधिवेशनस्थलतर्फ अगाडि बढिरहेका छन्। स्थान अभावको चिन्ताका कारण धेरै प्रतिनिधि उद्घाटन समारोह सुरु हुनुअघि नै स्थलमा पुगिसकेका छन्, जसले बिहानैदेखि सल्लाघारी क्षेत्र उत्साह र चहलपहलले भरिएको छ।
पार्टीका केन्द्रीय, प्रदेश तथा स्थानीय तहका नेताहरू पनि क्रमशः महाधिवेशनस्थल पुग्ने क्रम जारी छ। उद्घाटन कार्यक्रमअघि विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत भइरहेका छन्, जसले सहभागीहरूको उत्साह थपेको छ। महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधि, नेता तथा कार्यकर्ताहरूलाई कार्यक्रमस्थल प्रवेशअघि कडा सुरक्षा जाँच गरिएको छ। सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वयंसेवक परिचालन गरिएको छ भने मेटल डिटेक्टर, बम डिटेक्टरलगायतका सुरक्षा उपकरण प्रयोग गरिएको छ।
नेकपा एमालेले ११ औँ राष्ट्रिय महाधिवेशनलाई पार्टीको भावी नीति, कार्यक्रम र नेतृत्व चयनका दृष्टिले अत्यन्त महत्त्वपूर्ण रूपमा लिएको छ। उद्घाटन समारोहसँगै सुरु हुने महाधिवेशनका गतिविधिले पार्टीको संगठनात्मक दिशा र राष्ट्रिय राजनीतिमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।





प्रतिक्रिया दिनुहोस्