Logo २७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025


चेपाङ विद्यार्थीले बनाएको ‘स्लिपर्स टु स्याट’ उपग्रह चीनबाट सफल प्रक्षेपण


299
Shares

काठमाडौं । चेपाङ समुदायका विद्यार्थीले निर्माण गरेको उपग्रह ‘स्लिपर्स टु स्याट’ चीनबाट सफलतापूर्वक प्रक्षेपण गरिएको छ।

परियोजना व्यवस्थापकका अधिकारीका अनुसार “उपग्रह अन्तरिक्षमा पुगिसकेको छ। अनलाइन कनेक्सन स्थापना गर्ने तयारीमा छौँ। त्यसका लागि हामी नास्ट (NAST) को ग्राउन्ड स्टेशनतर्फ जाँदैछौँ। कनेक्सन सफल भएपछि यसलाई प्रारम्भिक सफलता मान्ने बताएका छन् ।

ट्युब आकारको यो नानो–उपग्रहको तौल १.२ किलोग्राम छ। यसमा दुईवटा उच्च क्षमताका क्यामेरा जडान गरिएको छ, जसले रियल–टाइम तस्बिर खिच्न सक्ने र नेपालको वनस्पति आवरण तथा जलस्रोतसम्बन्धी तथ्यांक संकलन गर्न सक्ने क्षमता राख्छ।

उपग्रहको अर्को महत्वपूर्ण विशेषता भूकम्प पूर्वसूचना प्रणाली हो। अधिकारीका अनुसार उपग्रहमा भूकम्प आउनुअघि उत्पन्न हुने सूक्ष्म विद्युतचुम्बकीय तरंग (माइक्रो इलेक्ट्रोम्याग्नेटिक वेभ) पहिचान गरी प्रारम्भिक चेतावनी दिन सक्ने प्रविधि समावेश गरिएको छ।

यसका साथै उपग्रहमा विद्युतचुम्बकीय प्रणाली जडान गरिएको छ, जसको माध्यमबाट पृथ्वीबाटै उपग्रहको गति रोक्न र यसको कक्षा (अर्बिट) समायोजन गर्न सकिनेछ।

सुरुआती योजनाअनुसार उपग्रह कम्तीमा पाँच वर्षसम्म सञ्चालनमा रहने अपेक्षा गरिएको थियो। तर सूर्यको २५औँ सौर्य चक्र (Solar Cycle 25) चरम अवस्थामा पुगेकाले सौर्य विकिरण अत्यधिक तीव्र हुने अनुमान गरिएको छ। यस कारण उपग्रहको कक्षीय आयु घट्न सक्ने र करिब डेढ वर्षजति मात्र सञ्चालनमा रहन सक्ने प्रक्षेपण टोलीको अनुमान छ।

यो परियोजना एमेच्योर रेडियो डिजिटल कम्युनिकेसनको प्राविधिक सहयोगमा सम्पन्न गरिएको हो। साथै, चितवनका चेपाङ समुदायका बालबालिकाहरू पनि यस परियोजनामा प्रत्यक्ष रूपमा संलग्न छन्।

उपग्रहबाट प्रसारण हुने सबै तथ्यांक विश्वभरका लाइसेन्स प्राप्त एमेच्योर रेडियो फ्रिक्वेन्सी धारक तथा सम्बन्धित संस्थाहरूले निःशुल्क रूपमा प्रयोग गर्न सक्नेछन्। ‘स्लिपर्स टु स्याट’ निजी क्षेत्रसँगको समन्वयमा नेपालबाट निर्माण गरिएको तेस्रो उपग्रह हो।