Logo २५ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025


चलचित्र विकास बोर्डको अध्यक्ष योग्यता क्रमका आधारमा खुला प्रतिष्पर्धाबाट ल्याउने व्यवस्था गरौं: सञ्चारमन्त्री खरेल


130
Shares

काठमाडाैं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्र विकास बोर्डको अध्यक्ष योग्यताक्रमका आधारमा खुला प्रतिष्पर्धाबाट ल्याउने व्यवस्था गर्न प्रश्ताव गर्नुभएको छ।

सिंहदरबारमा बिहीबार विधायन व्यवस्थापन समितिको बैठकमा भएको चलचित्रसम्बन्धि विधेयकको दफाबार छलफलका क्रममा उहाँले यस्तो प्रश्ताव गर्नुभएको हो। उहाँले बोर्डलाई स्वायत्त नै बनाउनुपर्ने र बोर्डमा आउने अध्यक्ष खुला प्रतिष्पर्धाबाटै ल्याउने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो। मन्त्री र प्रधानमन्त्रीका खल्तीका मान्छे भर्ती गर्ने गरिएकोले देश बिग्रिएको उहाँको भनाइ छ। उहाँले हाल खुला नियुक्त हुने पदमा पनि कागजात मिलाएर नामको मात्रै खुला प्रतिष्पर्धा हुने गरेको बताउनुभयो।

नियुक्तिको लागि करोडौँको डिल गर्ने अवस्थाको अन्त्य गर्नेगरी कानूनी प्रवन्ध गरिनुपर्नेमा उहाँले जोड दिनुभयो। उहाँले अध्यक्ष खुला प्रतिष्पर्धामार्फत मेरिटवेशमा ल्याएपछि बोर्डका सदस्यहरु भने समानुपातिक रुपमा मनोनित गर्न सकिने बताउनुभएकाे छ। उहाँले बोर्डको अध्यक्षलाई ४ वर्ष पूर्णरुपमा काम गर्न पाउनेगरी कानून बनाउनुपर्ने बताउनुभयो। सरकार परिवर्तनपिच्छे नै अध्यक्ष परिवर्तन गर्न लाग्दा अपेक्षित काम गर्न नसक्ने उहाँको भनाइ छ। काम नगरेको खण्डमा भने हटाउन मिल्ने पनि बनाउनुपर्ने मन्त्री खरेलले बताउनुभयो।

छलफलमा सहभागी सांसदहरुले बोर्डलाई स्वायक्त बनाउनुपर्ने, ७ वटै प्रदेशमा यसको कार्यक्षेत्र विस्तार गर्नुपर्ने, बोर्डको अध्यक्ष र सदस्यहरु नियुक्त गर्दा समानुपातिक ढंगले गर्नुपर्ने बताएका थिए। सांसदहरुले बोर्डका सदस्यहरुलाई सरकारले हटाउन नपाउने व्यवस्था गर्नुपर्नेमा पनि जोड दिएक छन्।समिति सभापति तुलसाकुमारी दाहालले अर्को बैठकमा विधेयकमा फेरि छलफल हुने जानकारी गराउनुभयाे।