Logo १५ माघ २०८२, बिहिबार | Thu Jan 29 2026


पछिल्लो १० वर्षमा स्वास्थ्य र शिक्षा जस्ता आधारभूत क्षेत्रमा बजेट घट्याे: अर्थमन्त्री खनाल

स्वास्थ्य क्षेत्रमा बजेट कटौती हुनु राम्रो हैन

130
Shares

काठमाडाैं। अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले पछिल्लो १० वर्षमा स्वास्थ्य तथा शिक्षा जस्ता आधारभुत क्षेत्रमा बजेट घटेको बताउनुभएको छ।

काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा बाेल्दै उहाँले स्वास्थ्य क्षेत्रमा बजेट कटौती हुनु राम्रो नभएको बताउनुभएको हो। देशको समग्र राजश्व संरचनामा वृद्धि भएपनि स्वास्थ्य तथा शिक्षा क्षेत्रमा बजेट घटेको उहाँको भनाइ छ। स्वास्थ्य क्षेत्रमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग तथा सरकारी संयन्त्रबीच आवश्यक सहकार्य नभएको कारण बजेट घटेको हुनसक्ने उहाँले बताउनुभयो। यसलाई एकै पटकमा सुधार गर्न नसकिने उहाँको भनाइ छ।

मन्त्री खनालले स्वास्थ्य बीमा भुक्तानीको जिम्मेवारी सरकारले लिनुपर्ने पनि बताउनुभयो। स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बाँकी रहेको भुक्तानी गर्नुपर्ने पक्षमा आफू रहेको उहाँको भनाइ छ । स्वास्थ्यमन्त्रीलाई सबै भुक्तानी छिटो पूरा गर्ने प्रक्रियाका लागि आग्रह गरेको उहाँले जानकारी दिनुभयो। विगतका सरकारले रोक्यो भनेर अहिलेको सरकारले रोक्न नमिल्ने उहाँले बताउनुभएकाे छ। उहाँले स्वास्थ्य बीमा आवश्यक छ वा छैन भन्ने विषयमा भने पुनर्विचार गर्नुपर्नेमा जोड दिनुभयो। राज्यले धान्न नसक्ने संरचना राख्न नहुने उहाँको तर्क छ। उहाँले स्वास्थ्य संस्थालाई पर्याप्त वित्तीय पहुँच पुर्‍याउनुपर्नेमा जोड दिनुभयो।

मन्त्री खनालले अर्थमन्त्रालयले बिना कारण स्वास्थ्य क्षेत्रको बजेट काट्न नमिल्ने बताउनुभयो। यद्यपि माग्ने बित्तिकै बजेट नपाइने समेत उहाँकाे भनाइ छ। राष्ट्रको स्रोत सदुपयोग गर्न सबैले ध्यान दिनुपर्नेमा उहाँकाे जाेड थियाे।