काठमाडाैं। नागढुंगा-मलेखु सडकखण्ड एक हप्ताका लागि दैनिक ५ घण्टा बन्द गरी सडक विस्तारलाई तीव्रता दिइएको छ।
सडक कालोपत्र गरी स्तरोन्नति गर्न नागढुंगा-मुग्लिन सडक आयोजनाले बुधबारदेखि आगामी पुस १ गतेसम्म दैनिक ५ घण्टा गाडी बन्द गरेर काम तीव्र पारेको जनाएकाे हाे। सडक आयोजनाले जारी गरेकाे सूचना अनुसार नागढुंगादेखि पिप्लामोडसम्म र पोखरेभीर क्षेत्रमा बिहान साढे १० बजेदेखि दिउँसाे साढे ३ बजेसम्म सडक आवागमन बन्द गरेको छ। यो समयमा वैकल्पिक सडक प्रयोग गरिदिन र यात्रा समयलाई यो समय भन्दा अगाडि वा पछाडि व्यवस्थापन गर्न आग्रह गरिएको नागढुंगा-मुग्लिङ सडक आयोजनाका इन्जिनियर केशव ओझाले बताउनुभयाे।
धादिङको गल्छी–गजुरी खण्ड पनि साँघुरो र जोखिमपूर्ण रहेकाले पोखरेभीर क्षेत्रमा सडक चौडा गर्नुपर्ने आयोजनाले जनाएको छ। काठमाडौं जिल्लाभित्र पर्ने नागढुंगा पिप्लामोड खण्ड कालोपत्र उच्च प्राथमिकतामा राखिएको हाे। नागढुंगा–पिपलामोड खण्डका लागि काठमाडौँतर्फबाट आउने सवारीसाधनलाई नागढुंगा चेकपोस्टमा र गल्छीबाट काठमाडौँतर्फ जाने सवारीसाधनलाई खानीखोला तथा जुँगेखोलामा रोकिएको छ।
गल्छी–गजुरी खण्डका लागि नौबिसेतर्फबाट आउने सवारीसाधनलाई गल्छी बैरेनी, मासटार र मुग्लिनतबाट नौबिसेतर्फ आउने सवारीसाधनलाई मलेखु क्षेत्रमा रोकिएको छ। अत्यावश्यक अवस्थामा साना तथा मझौला गाडीले सीतापाइला-भीमढुंगा-रामकोट-धार्केको सडक प्रयोग गर्न सक्नेछन्। सामाखुसी-टोखा–छहरे हुँदै गल्छी निस्कने र जरेखेतबाट त्रिशूलीको पुल तरेर घाटबेंसीको पुल निस्कने वैकल्पिक बाटो पनि प्रयोग गर्न सकिनेछ।
एम्बुलेन्स, सुरक्षानिकायका गाडी, दमकल र शववाहन जस्ता अत्यावश्यक गाडी भए पनि सडक चौडा गर्नका लागि काटिएको पहराबाट सडकमा ढुंगामाटो थुप्रिएकाले आवतजावत गर्न सकिने अवस्था समेत नभएकाे जनाइएकाे छ।





प्रतिक्रिया दिनुहोस्