Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


गर्भवती महिलाले ध्यान दिनैपर्ने यी कुरा (भिडियो)


0
Shares

प्रज्ञा तिमल्सिना/देवेन्द्र महर्जन/उत्तम मानन्धर (इमेज)

काठमाडौं, असोज ७ । गर्भवती महिलाले जथाभावीरुपमा औषधि सेवन गरे बच्चाको स्वास्थ्यमा नकारात्मक असर पार्ने सम्भावना उच्च हुने भन्दै  चिकित्सकहरुले सचेत गराएका छन् ।

बच्चाको मस्तिष्क र शरीरका अंगहरु विकास हुने समयमा आमाले औषधि सेवन गरे अपांगता भएका बच्चा जन्मिने सम्भावना उच्च रहने चिकित्सकहरुले बताएका छन् ।

के तपाइँ गर्भवती भएको समयमा जथाभावीरुपमा औषधिको प्रयोग गरिरहनुभएको त छैन ? ख्याल गर्नोस् है ! त्यसले तपाइँको गर्भमा रहेको बच्चालाई नकारात्मक असर पारिरहेको हुनसक्छ ।

गर्भ रहेको तीनदेखि ८ हप्ताको समय शिशुको अंगहरुको स्वरुप बन्ने र विकास हुने चरण हो । त्यो समयमा गर्भवती महिलाले चिकित्सकको सल्लाहबिना नै औषधि सेवन गरे त्यसले बच्चाको मस्तिष्क, मुटु, हात–खुट्टा नै विकास नहुनेजस्ता समस्या देखिने सम्भावना उच्च हुने चिकित्सकहरुले बताएका छन् ।

गर्भमा रहेको ८ हप्तापछि बच्चाको सम्पूर्ण अंग विकास हुँदै जान्छ । त्यस समयमा औषधिको प्रयोगले अपांगता भएका बच्चा जन्मने र गर्भपतन हुने जोखिम उच्च रहेको चिकित्सकहरु बताउँछन् ।

ब्लडप्रेसर, सुगर र थाइराइडको समस्या भइ औषधि सेवन गरिरहेका महिलाले भने चिकित्सकको सल्लाहमामात्र बच्चा जन्माउन चिकित्सकहरुले सल्लाह दिएका छन् ।

तर, कुनै रोगको औषधि सेवन गरिरहेका गर्भवती महिलाले पनि चिकित्सकको सल्लाहबमोजिम नै सुरक्षित औषधिमात्र प्रयोग गर्नुपर्ने हुन्छ  ।

चिकित्सकको सल्लाहमा सुरक्षित औषधि प्रयोग गरे त्यसले बच्चालाई असर पार्ने सम्भावना न्यून हुन्छ ।

यस्तै, गर्भवती महिलाले भिटामिन ‘ए’ बढी भएको, हर्मोन विकास गराउनेलगायतका औषधिसमेत प्रयोग गर्नुहुँदैन ।

‘स्टेपटोमाइसिन’ नामक औषधि गर्भवती महिलाले प्रयोग नै नगर्न चिकित्सकहरु सुझाव दिन्छन् ।

गर्भावस्था निकै संवेदनशील समय हो । यस्ता महिलाले आफ्नो स्वास्थ्यकाबारेमा सचेत नहुने हो भने त्यसले गर्भमा रहेको बच्चाको विकासमा नै असर पारी शारीरिकरुपमा अक्षम भएको बच्चा जन्मनसक्ने सम्भावना उच्च हुने हुँदा गर्भवती महिला आफैं पनि सचेत हुन आवश्यक छ ।

भिडियो हेर्नुहोस्