Logo २३ मंसिर २०८२, मंगलबार | Tue Dec 9 2025


मोरङको रतुवा-केशलिया सडक निर्माणको ठेक्का तोडियो


143
Shares

काठमाडौं ।
हुलाकी राजमार्गअन्तर्गत मोरङको रतुवा- केशलिया ६ किलोमिटर सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ ।

सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले आज एक सूचना निकाल्दै ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ ।

सडक निर्माणका लागि श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रा.लि. हेटौंडासँग सम्झौता भएको थियो । सडक स्तरोन्नति तीन वर्षभित्र सम्पन्न गर्ने गरी उक्त कम्पनीसँग २३ कात्तिक २०७६ मा ८३ करोड ९९ लाख रुपियाँमा ठेक्का सम्झौता गरिएपनि अहिलेसम्म निर्माण प्रगति करिब २५ प्रतिशत मात्र छ । कुनै ठाउँमा ४ र कुनै ठाउँमा ६ लेनमा स्तरोन्नति गर्ने गरी ठेक्का सम्झौता भएकोमा काम नसकिँदा सम्झौताको म्याद दुई पटक थप गरिएको थियो ।

पटक-पटक ताकेता गर्दा काम नगरेको, प्रतिबद्धता बमोजिम काम नगरेको र साइट ठप्प बनाएकाले ठेक्का तोडिएको योजना कार्यायले जनाएको छ । ठेक्का सम्झौता रद्द गरिएको निर्माण व्यवसायीको कार्य सम्पादन जमानत वापतको चार करोड १९ लाख र पेश्की वापतको नौ करोड ६७ लाख रुपियाँ जफतका लागि बैंकमा पत्रचार गरिसकिएको पनि जनाईएको छ ।

पेश्की रकममा १० प्रतिशत व्याजसहित असुल हुनेछ । योजना कार्यालय इटहरीबाट गत साउनमा ठेक्का किन नतोड्ने ? भन्दै निर्माण व्यवसायीलाई १५ दिने स्पष्टीकरण सोधिएको थियो । निर्माण व्यवसायीबाट पेश भएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले सार्वजनिक खरिद कानुनमा भएको व्यवस्था बमोजिम ठेक्का रद्द गरिएको हो ।