काठमाडाैं। नेकपा एमालेले पार्टीकाे ११औं महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको सल्लाघारीमा अस्थायी संरचना निर्माण तीव्र पारेकाे छ।
महाधिवेशनकाे उद्घाटन हुन ५ दिन मात्रत्रै बाँकी रहँदा उद्घाटनस्थलमा मञ्च निर्माण, शौचालय, अतिथि लगायतका लागि आवश्यक अस्थायी संरचनाहरु निर्माण तीव्र पारिएको एमालेका पोटिलब्यूरो सदस्य महेश बस्नेतले बताउनुभएकाे हाे। भक्तपुरको मौलिक पहिचान झल्किने गरी परम्परागत शैलीमा निर्माण हुने मञ्चका साथै अन्य संरचनाहरु निर्माण तीव्र गतिमा भइरहेको समेत उहाँले जानकारी दिनुभएकाे हाे। उद्घाटनका दिनमा करिब ५ लाख मानिसको कार्यक्रममा सहभागिता रहने अपेक्षा गरिएको उहाँले बताउनुभयाे।
उद्घाटनस्थलमा १० हजार स्वयंसेवक परिचालन गरिने र ५ सय ५० जना स्वयंसेवक पोसाकसहित सहभागी हुने भएका छन् । युवा संघले ५० हजार कार्यकतालाई उद्घाटनस्थलमा ल्याउने र नेसनल भोलियन्टरले १० हजार कार्यकर्तालाई कार्यक्रमस्थलमा स्वयंसेवकका रुपमा परिचालन गर्ने भएको छ।
महाधिवेशनमा सहभागी हुन विभिन्न जिल्लाबाट आउने प्रतिनिधिहरुको सवारीसाधनलाई जगातीबाट इँटा–टायल कारखाना एवं स्थानीय प्लटिङमा पार्किङ गर्ने, र्यालीसहित सल्लाघारी उद्घाटनस्थलमा आउने र पश्चिमबाट आउने सवारी साधनलाई मध्यपुरथिमिको गट्ठाघरस्थित नागगरिक उड्डयन प्राधिकरणको खाली जग्गा एवं कमेरोटार क्षेत्रका खाली जग्गामा पार्किङ गरेर र्यालीसहित सल्लाघारी आउने व्यवस्था गरिएको समेत नेता बस्नेतले बताउनुभयाे।
महाधिवेशनमा करिब २ हजार ५ सय प्रतिनिधिको सहभागिता रहनेछ। ५ प्रतिशत मनोनित हुने प्रतिनिधिको छनोट प्रक्रिया शीर्षस्थ नेताहरुको टोलीले गरिरहेको उहाँकाे भनाइ छ। यस पटकको महाधिवेशनमा एमालेले कूल प्रतिनिधि संख्यामा एक चौथाइ जेनजी युवाहरुलाई प्रतिनिधि बनाएको र केन्द्रीय कमिटीमा पनि जेनजीको प्रतिनिधित्व सुनिश्चित गरिने नेता बस्नेतकाे दवी छ।
यहि मंसिर २७ गते मध्याह्न १२ बजे उद्घाटन सत्र शुरु गरी पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्ने एमालेले जनाएकाे हाे। त्यसैगरी मंसिर २८ र २९ गते भृकुटीमण्डपमा बन्द सत्र एवं निर्वाचनबाट नयाँ केन्द्रीय कमिटी चयान गर्ने एमालेकाे तयारी छ।





प्रतिक्रिया दिनुहोस्