Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


प्रधानमन्त्री कार्की र संयाेजक प्रसाईबीच सिंहदरबारमा छलफल जारी


299
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईबीच छलफल जारी रहेकाे छ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईले सरकारसँग राखेका २७ बुँदे मागका मुख्य बुँदाहरूकाे बारेमा प्रधानमन्त्री कार्कीसँग छलफल भएको हाे।

सिंहदरबारमा साेमबार भएको छलफलमा प्रधानमन्त्री कार्कीसहित गृहमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी रहेका छन् । यसअघि प्रसाईको समूहले सरकारसँग प्रस्तुत गरेको २७ बुँदे माग पत्रमा नेपालको वर्तमान संविधानलाई पूर्ण रुपमा खारेज गरी नयाँ संविधान निर्माण गर्ने, राष्ट्रपतिको सट्टा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख प्रणाली लागू गर्ने, राजसंस्था र हिन्दु राज्य लगायतका मागहरू समावेश थिए।

धर्मनिरपेक्षताको नीतिलाई परिवर्तन गरी हिन्दु राष्ट्र पुनर्स्थापना गर्ने, विदेशी प्रभावबाट राष्ट्रियतालाई जोगाउने, सार्वजनिक शान्तिमा खलल पुर्याउने तत्त्वहरूको नियन्त्रण गर्ने तथा नागरिक स्वतन्त्रताको पूर्ण सुनिश्चितता गर्ने जस्ता बुँदाहरू पनि प्रसाईका माग रहेका छन् । साेही मागहरू यहि मंसिर ६ गते गृहमन्त्री ओमप्रकाश अर्याललाई प्रसाईले बुझाउनुभएकाे थियाे।