Logo २२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025


मोरङमा बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासूको मृत्यु

ससुरा भने गम्भीर बिरामी, बुहारी प्रहरीकाे नियन्त्रणमा

949
Shares

काठमाडाैं। मोरङमा भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि सासूको मृत्यु भएकाे छ।

ससुरा भने गम्भीर बिरामी भएकाे जिल्ला प्रहरी कार्यालय मोरङले जनाएकाे हाे। बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने ७० वर्षीय भक्तबहादुर राई भने गम्भीर बिरामी भएकाे प्रहरीले बताएकाे छ। बिरामी भक्तबहादुरको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले बताएकाे हाे।

स्थानीयले भक्तबहादुर राईलाई घर नजिकै खोल्सामा शनिबार दिउँसो बेहोस अवस्थामा फेला पारेपछि उद्धार गरेर घर ल्याएका थिए । घरमा उहाँकी पत्नी इन्द्रमाया राईसमेत बेहोस भेटिनुभएको थियो। बेहोस अवस्थामा रहेका दम्पतीलाई उपचारका लागि नोबेल मेडिकल कलेजमा लगिएको थियो। उपचारका क्रममा इन्द्रमायाको मृत्यु भएको प्रहरीले बताएकाे छ। उपचारमा रहेका भक्तबहादुरको अवस्था पनि गम्भीर रहेको अस्पतालले जनाएको हाे।

प्रारम्भिक अनुसन्धानले खानामा विष मिसाइएको खुलेको प्रहरीले बताएको छ। घटनास्थलमा रहेको खोरमा तीन वटा कुखुरा समेत मृत अवस्थामा फेला परेपछि स्थानीयले विष सेवन भएको आशंका गरेका थिए।घटनामा संलग्न रहेको आरोपमा भतिजी बुहारी ३२ वर्षीया सुनिता कार्कीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेसँगै सुनिताले खानामा विष मिसाएको र त्यसपछि विषको बट्टा अँगेनामा जलाएको बयान दिएको प्रहरीले बताएको हाे। बट्टा जलेको अवस्थामा बरामद गरिएको प्रहरीले बताएकाे हाे।

घटनामा प्रयोग गरिएको विष र कारणबारे पोस्टमार्टम रिपोर्ट र फरेन्सिक परीक्षण र प्रयोगशाला रिपोर्टपछि मात्र निश्चित जानकारी आउने प्रहरीले बताएको छ। प्रहरीले सुनिताविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरी म्याद थप गरी थप अनुसन्धान अगाडि बढाएको छ। वृद्ध दम्पतीसँगै बस्ने भतिजो प्रशान राई घरबाहिर हुँदा घटनाको योजना भएको हो । घटनाका कारण बारे प्रहरीले पारिवारिक कलह हुनसक्ने अनुमान गरेको छ।

घटनापछि स्थानीयले निष्पक्ष र व्यापक रुपमा अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउनुपर्ने माग गरेका छन् । प्रहरी टोली इन्स्पेक्टर राजीव गिरीको नेतृत्वमा थप अनुसन्धान अगाडि बढाइरहेको जनाइएकाे छ।