काठमाडौं । इरानले आर्थिक अपराधमा एक व्यक्तिलाई मृत्युदण्ड दिएपछि यसको आलोचना विश्वभर हुन थालेको छ ।
ठगी मामलामा दोषी ठहरिएका ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक मोहम्मद रेजा गफ्फारीलाई फाँसी आईतबार मृत्युदण्ड दिईएको हो ।
गफ्फारी कार किन्ने नेटवर्कमार्फत हजारौं मानिसलाई ठगी गरेको आरोपमा सर्वोच्च अदालतले उनको मृत्युदण्ड पुष्टि गरेको थियो । सन् २०१३ मा उत्तर काजविन प्रान्तमा सुरु ठगीमा सस्तो मूल्यमा कार दिने वाचा गर्दै रियल इस्टेट र अन्य लगानी योजनामा पनि विस्तार गरिएको थियो ।
त्यसपछि अभियोजनले गफ्फारी र उनका सहकर्मीहरूले जनताबाट ठूलो रकम उठाएर नयाँ निक्षेपमार्फत प्रारम्भिक ग्राहकलाई फिर्ता रकम दिएको आरोप लगाएको थियो ।
इरानी न्यायपालिकाका अनुसार करिब ३५० लाख डलर बराबरको रकम संलग्न रहेको यस घटनामा करिब २८ हजार उजुरीकर्ता र २८ प्रतिवादी थिए ।
इरानमा हत्या, बलात्कार जस्ता अपराधका साथै आर्थिक अपराध र जासुसी मामलामा पनि मृत्युदण्ड लागू हुन्छ । मानवअधिकार समूह अनुसार, चीनपछि इरान विश्वमा दोस्रो सर्वाधिक मृत्युदण्ड दिने देश हो ।





प्रतिक्रिया दिनुहोस्