कैलाली। सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको धनगढी उपमहानगरपालिकाभित्र पर्ने डमौलिया गाउँ ‘बिरानो’ जस्तै बनेको छ।
उपमहानगरपालिकाको-१७ मा पर्ने यो गाउँ बजेट, विकास र पहुँचको दृष्टिले ओझेलमा परेको हो। पक्कीपुल, स्वास्थ्य सेवा, यातायात र बजार पहुँचजस्ता आधारभूत सेवाबाट बञ्चित हुँदा यहाँका करिब ६ सय घरधुरीका नागरिक दैनिक कठिन जीवन बिताउन बाध्य छन् ।
धनगढी उपमहानगरपालिकाको डमौलिया गाउँलाई शिवगंगा नदी र जहरे खोलाले दुईतर्फबाट घेरेको छ। स्थानीयका अनुसार वास्तवमा यो गाउँ तीन वटा नदीको बीचमा रहेको हाे। तर ती नदीहरूमा हालसम्म कुनै पनि मोटरेबल पक्की पुल निर्माण हुन सकेको छैन । यसका कारण गाउँ धनगढी सहरसँग प्रत्यक्ष रूपमा जोडिन सकेको छैन ।
नदीमा कच्ची बाटो वा जोखिमपूर्ण रूपमा खोला तरेर यात्रा गर्नु यहाँका नागरिकको बाध्यता बनेको हाे । स्थानीय समाजसेवी पुष्प रानाका अनुसार डमौलिया गाउँ श्रीलंकाको टापु जस्तै अलग–थलग अवस्थामा छ। डमौलीया गाउँ तीन वटा नदीले घेरेको बताउदै उहाँले सामान्य आवतजावतका लागि समस्या हुने गरेको गुनासो गर्नुभयो ।
पुल नहुँदा सबै भन्दा ठूलो असर स्वास्थ्य सेवामा परेको छ। सुत्केरी व्यथा लागेका महिला, आकस्मिक बिरामी र बालबालिका तथा वृद्धलाई समयमै अस्पताल पुर्याउन कठिन हुने गरेको स्थानीयहरूले बताएका छन्। वर्षायाममा नदीमा पानी बढेपछि गाउँ पूर्णको सम्पर्कविछेद हुने गरेको बताउदै स्थानीयहरुले यस्तो अवस्थामा बिरामी बोक्न एम्बुलेन्ससमेत गाउँसम्म नपुग्ने गरेको गुनासो गरेका छन् । स्थानीय बलराम पाण्डेले सबै भन्दा बढी समस्या सुत्केरी र सिकिस्त बिरामीका बेला हुने गरेको बताउनुभयो।
डमौलिया गाउँका अधिकांश बासिन्दा कृषि पेसामा संलग्न छन, यहाँ तरकारी, दूध, कुखुरा र माछा उत्पादन हुँदै आएको छ। र गाउँ कृषि उत्पादनमा आत्मनिर्भर बन्दै गइरहेको छ। तर, पुल नहुँदा उत्पादन सहज रूपमा बजारसम्म पुर्याउन नसक्दा किसानहरू ठूलो समस्यामा परेका छन् । ढुवानी खर्च अत्यधिक बढ्ने, कहिलेकाहीँ ढुवानी नै सम्भव नहुने अवस्था रहेको उनीहरूको गुनासो छ।
प्रदेशको मुख्य सहर र प्रशासनिक केन्द्र मानिने धनगढीमै यस्तो दुर्गम र पछाडि परेको गाउँ हुनु आफैंमा विडम्बनापूर्ण रहेको स्थानीय बताउँछन् । स्थानीय, प्रदेश र संघीय सरकारको गम्भीर ध्यान डमौलिया गाउँतर्फ जानु आवश्यक देखिएको छ।
भिडियाे रिपोर्ट:





प्रतिक्रिया दिनुहोस्