Logo २१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025


आम सञ्चारमाध्यम र न्यु मिडियालाई थप व्यवस्थित बनाउन जरूरीः मन्त्री खरेल


169
Shares

काठमाडाैं। प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष कुमार शर्मा आचार्यले नियुक्ति पत्र बुझ्नुभएको छ।

सिंहदरबारस्थित मन्त्रालयमा आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले अध्यक्ष आचार्यलाई नियुक्ति पत्र प्रदान गर्नुभएकाे हाे। सरकारले गत सोमबार आचार्यलाई रिक्त अध्यक्ष पदमा मनोनयन गरेको थियो। नियुक्ति पत्र प्रदान गर्न आयोजित कार्यक्रममा बोल्दै मन्त्री खरेलले आम सञ्चारमाध्यम र न्यु मिडियालाई थप व्यवस्थित, मर्यादित र जनउत्तरदायी बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै सोही अनुसार अगाडि बढ्न आग्रह गर्नुभयो। उहाँले समग्र सञ्चार क्षेत्रको सुधारका लागि संविधान र कानूनको परिधिभित्र रहेर काउन्सिलले प्रभावकारी काम गर्नुपर्ने अवस्था रहेको बताउनुभएकाे छ।

मन्त्री खरेलले भ्रष्टाचार नियन्त्रण गर्दै मुलुकमा सुशासन कायम गर्न लागिपरेको पनि बताउनुभयो। घोषित मितिमा स्वच्छ, निष्पक्ष-भयरहित वातावरणमा बढाउनुपर्ने अवस्थामा जिम्मेवार सरोकारवालाबाटै भ्रामक सूचना र समाचारहरु संप्रेषण भइरहेको बताउदै उहाँले आपत्ति जनाउनुभयो। साइबर आक्रमण नै सरकारको लागि मुख्य चुनौती रहेको मन्त्री खरेलको भनाइ छ।

अध्यक्ष आचार्यले सञ्चारमाध्यमलाई थप व्यवस्थित बनाउँदै मुलुकमा सुशासन कायम गर्ने सवालमा महत्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे। उहाँले सञ्चारमाध्यमलाई जिम्मेवार र जनउत्तरदायी बनाउने आफ्नो महत्वपूर्ण जिम्मेवारी रहेको पनि बताउनुभएकाे छ। काउन्सिलमा रहँदा अधिकारको प्रयोग नभई कर्तव्य निर्वाह गर्ने समेत उहाँको भनाइ थियाे।