काठमाडौं ।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रिय राजनीतिको चुनौतिहरु सामना गर्नसक्ने योग्य नेता भएकाले केपी शर्मा ओलीलाई नै फेरि पार्टीको नेतृत्व प्रदान गर्न लागिएको बताउनुभएको छ ।
शनिवार पार्टी मुख्यालय च्यासलमा पार्टीको ११ औ महाधिवेशन प्रचार समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।
महासचिव पोखरेलले ओली मुलुकको राजनीतिको चुनौतिलाई सामना गर्नसक्ने योग्य नेता भएको यथार्थलाई सबैले बुझ्नुपर्ने समेत बताउनुभयो ।
राष्ट्रिय राजनीतिको चुनौतिलाई सामना गर्न र पार्टीको प्रतिष्ठा र भविष्यलाई सुरक्षित गर्न पनि ओलीलाई पुनः पार्टी अध्यक्ष बनाउनुपर्ने उहाँको तर्क थियो । महासचिव पोखरेलले पार्टीमा एकताको खाँचो रहेको औल्याउँदै एकतावद्ध भएर अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गर्नुभयो ।
उहाँले पार्टी नेतृत्व ओलीमाथि चौतर्फी घेराबन्दी गरेर मुलुकलाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउन खोजिएको उल्लेख गर्दै त्यसलाई बुझेर पार्टी पंक्ति अघि बढ्नुपर्ने समेत बताउनुभयो ।
महासचिव पोखरेलले भन्नुभयो,यतिबेला हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि जुन चौतर्फी आक्रमण र घेराबन्दी हामीले देखिरहेका छौँ । म तपाईहरुलाई के कुरा भन्न चाहन्छु भने त्यो आक्रमण र घेराबन्दी व्यक्ति केपी शर्मा ओलीमाथिको घेराबन्दी र आक्रमण होइन । एमाले पार्टी, त्यसले अवलम्बन गर्ने नीतिहरु र नेपाल राष्ट्रलाई कमजोर बनाउनका लागि गरिएको घेराबन्दी हो, आक्रमण हो भन्ने कुरालाई हामीले बुझ्नुपर्दछ ।
त्यसअर्थमा यो राष्ट्रलाई भूराजनीतिक द्धन्द्धको क्रिडास्थल बनाउने जुन प्रकारको सुनियोजित षडयन्त्र भइरहेको छ । त्यसलाई पराजित गरी हाम्रा पुर्खाहरुले कहिल्यै कसैसँग उपनिवेष नभएको मुलुकको रुपमा नेपाल स्वाधिनता, स्वाभिमान र राष्ट्रिय हितलाई जसरी उचो राखेका छन् । त्यसको रक्षा गर्ने एक मात्र पार्टीको रुपमा नेकपा एमाले छ । त्यसको विशेष नेतृत्वमा हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओली हुनुहुन्छ ।
त्यस अर्थमा यो अधिवेशनले केपी शर्मा ओलीलाई स्थापित गर्ने होइन । उहाँ राष्ट्रिय राजनीतिमा त्यसै स्थापित नेता हो । आज राष्ट्रिय राजनीतिक एक प्रकारले भन्ने हो भने नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीको वरिपरि नै घुमीराखेको छ । चाहे सत्तामा रहेको बखत हो, चासो प्रतिपक्षमा रहेको बखतमा होस । या सडकमा रहेको बखत होस । या सिंहदरवारमा रहेको बखत होस । त्यस अर्थमा हामीले के कुरा बुझ्नुपर्दछ भने हामीले उहाँलाई महाधिवेशनको माध्यमबाट स्थापित गर्न खोजेको होइन । हामीले उहाँलाई राष्ट्रिय राजनीतिको चुनौतिहरु सामना गर्न सक्ने योग्य नेताको रुपमा नेतृत्व प्रदान गर्न खोजेका हौ भन्ने कुराको यथार्थतालाई हामी सबैले बुझनु पर्दछ । र हाम्रो पार्टी भित्र आन्तरिक लोकतन्त्रलाई हामीले अभ्यास गर्दै आईरहेका छौँ । त्यस अर्थमा लोकतान्त्रिक अभ्यासमा जान्छौ भन्नका लागि पार्टीले सधैं अनुमति दिन्छ । तर आज मुलुकको जुन परिस्थिति छ । जुन प्रकारका चुनौतिहरु छन । यो परिस्थितिमा म पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता कमरेडहरुलाई भन्न चाहन्छु–यतिबेला प्रतिष्पर्धा होइन, पार्टीमा एकताको खाँचो छ । सबैलाई एकतावद्ध भएर कमरेड केपी ओलीको नेतृत्वमा राष्ट्रिय राजनीतिका चुनौतिहरुलाई सामना गर्न पार्टीको प्रतिष्ठा र भविष्यलाई सुरक्षित गर्ने अभियानमा हामी सबै जुट्नेछौँ । यही अनुरोध गर्न चाहन्छु ।’
त्यस अवसरमा महासचिव पोखरेलले पार्टी महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन पनि सबैलाई आह्वान गर्नुभयो ।





प्रतिक्रिया दिनुहोस्