काठमाडाैं। ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरमा पछिल्लो समय निर्माण गरिएका सबै संरचनाहरु अपाङ्गमैत्री रहको बताउनुभएको छ।
ललितपुरमा बुधबार अपाङ्गता भएका व्यक्तिहरुको ३४ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। महानगरले बनाएका सबै संरचनाहरु अपाङ्गमैत्री रहको उहाँकाे दावी छ। वडा कार्यलय भवन, विद्यालय भवन, स्वास्थ्य चौकी र पार्क लगायतका जे-जति संरचना निर्माण भएकाे बताउदै उहाँले ती सबै नै अपाङ्गमैत्री रहेको बताउनुभयो। उहाँले भौतिक संरचनासँगै महानगरले बनाउने नीति नियमहरु पनि अपाङ्गमैत्री बनाएको जानकारी दिनुभएकाे छ।
प्रमुख महर्जनले गतवर्ष अपाङ्ग दिवसको अवसरमा ५ सय ६२ जना अपाङ्गता भएका व्यक्तिहरुले पाटन दरबार क्षेत्रको ह्वीलचियरमा बसेर अवलोकन गरेको स्मरण समेत गर्नुभयो। उहाँले ललितपुर महानगरले नेपालमा नै पहिलो पटक अपाङ्गमैत्री गाडी सञ्चालनमा ल्याएको पनि जानकारी दिनुभएकाे छ। तर त्यो गाडी जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते आन्दोलनकारीहरुले जलाईदिएको उहाँले गुनासो गर्नुभयो। साेही गाडीमा भएको मेकानिकल लिफ्टिङले ह्वीलचियरमा बसेर अपाङ्गता भएका व्यक्तिहरु सहजै यात्रा गर्न सक्ने उहाँकाे भनाइ छ।
प्रमुख महर्जनले महानगरले जलाइएको भन्दा अझ स्तरीय अपाङ्गतामैत्री गाडी किन्नको लागि टेण्डर प्रक्रिया शुरु गरिएको पनि जानकारी गराउनुभयाे। याेसँगै दुई वटा दमकल पनि किन्न लागिएको उहाँले बताउनुभएकाे छ।





प्रतिक्रिया दिनुहोस्