Logo १७ मंसिर २०८२, बुधबार | Wed Dec 3 2025


वर्षातले कृषिमा ३ अर्ब बराबरको क्षति


0
Shares

काठमाडाैं ।

कार्तिकमा आएको अविरल वर्षापछिको बाढी, पहिरो र डुबानबाट कृषि क्षेत्रमा करिव ३ अर्ब बराबरको क्षति भएको अध्ययनले देखाएको छ ।

गत कार्तिक १५, १६ र १७ गते अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण कृषि क्षेत्रमा करिव २ अर्व ९१ करोड बराबरको क्षति भएको हो ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले तयार पारेको स्थलगत अध्ययनले सबैभन्दा बढी क्षति धानबालीमा भएको देखाएको छ । त्यसपछि तरकारी र केराबालीमा क्षति भएको अध्ययन प्रतिवेदनले देखाएको मन्त्रालयका सूचना अधिकारी समेत रहनुभएका वरिष्ठ कृषि अर्थविज्ञ महानन्द जोशीले जानकारी दिनुभयो ।

उहाँले यसको सबैभन्दा बढी क्षति कोशी प्रदेशमा भएको र त्यसमा पनि झापा जिल्लामा सबैभन्दा बढी धानबालीमा क्षति पुगेको बताउनु भयो ।

उहाँकाअनुसार सो विपद्ले मधेस, वागमती र गण्डकी प्रदेशमा क्रमशः क्षति पु¥याएको छ । समग्रमा करिव २० हजार हेक्टर धानबालीमा क्षति पुगेको प्रतिवेदनमा औँल्याइएको छ ।

विपद्का कारण चालु आर्थिक वर्षमा करिव ५ देखि ७ प्रतिशत धान उत्पादन घट्ने अनुमान गरेको छ । विशेष गरेर मधेसमा तरकारीबालीको उत्पादन घट्ने पनि अध्ययनले देखाएको सूचना अधिकारी जोशीले बताउनुभयो ।

अध्ययनमा विपद्बाट हुने क्षति न्युनिकरणका लागि चेतनामूलक कार्यक्रममा जोड दिन प्रदेश तथा स्थानीय सरकारलाई सचेत गराइएको छ ।

मौसम सम्बन्धि जानकारी लिने र त्यसबारे कृषकहरुको घरघरमा जानकारी गराउने काममा स्थानीय तथा प्रदेश सरकारले विशेष ध्यान दिनुपर्ने कुरा पनि प्रतिवेदनले औँल्याएको छ ।