Logo ४ माघ २०८२, आइतबार | Sun Jan 18 2026


औषधि व्यवसायीद्वारा स्वास्थ्यमन्त्री गौतमको आलोचना


533
Shares

काठमाडाैं। औषधि व्यवसायीहरुले आफूहरुको माग सुनुवाई नगरेको भन्दै सरकारको आलोचना गरेका छन्।

काठमाडौंको नयाँबानेश्वरस्थित औषधि व्यवस्था विभागको कार्यालयमा साेमबार पनि धर्ना दिन पुगेका उनीहरुले आफूहरुको माग सुनुवाई नगरेकोप्रति आपत्ति जनाएका हुन्। धर्नामा बस्न पनि नदिने गरी प्रहरी परिचालन गरिएको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतम र गृहमन्त्री ओमप्रकाश अर्यालको उनीहरुले आलोचना गरेका छन् ।

सरकारले आफूहरुको मागको सुनुवाई गर्नुको साटो शान्तिपूर्ण रुपमा धर्नामा बस्ने अधिकार समेत हनन गरेको भन्दै औषधि व्यवसायी गोपालराज पाण्डेले आपत्ति जनाउनुभयो। उहाँले आफूहरुको माग तत्काल सुनुवाई नगरे सबै व्यवसाय बन्द गरेर सडक संघर्षमा आउन बाध्य हुने चेतावनी समेत दिनुभएकाे छ। 

औषधि व्यवसायीहरुले व्यवसायिक नवीकरण ढिला भएमा स्वतः व्यवसाय रद्द हुने लगायतका प्रावधान हटाउन सरकारसँग माग गर्दै सोही विभागको कार्यालयमा दैनिक धर्ना दिँदै आएका छन् । व्यवसायी पाण्डेले सरकारले आफूहरुको माग सम्बोधन गर्नुको सट्टा शान्तिपूर्ण रुपमा धर्नामा बस्न पनि नदिने गरी प्रहरी परिचालन गरेकाले प्रतिवादमा उत्रनुपर्ने अवस्था आएको बताउनुभयो।