काठमाडौं ।
इजरायी प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफूविरूद्ध पाँच वर्षदेखि चलिरहेको भ्रष्टाचारसम्बन्धी मुद्दामा माफी दिन राष्ट्रपतिसमक्ष निवेदन दिनुभएको छ ।
मुद्दाकै कारण देश र सरकार चलाउन बाधा पुगेको भन्दै प्रधानमन्त्री नेतान्याहूले यसबाट मुक्ति दिन आफ्नो वकिलमार्फत राष्ट्रपति कार्यालयमा निवेदन दिनुभएको हो ।
नेतान्याहूले आफूमाथि झुटो मुद्दा चलाइएको र अदालतबाट सफाइ पाउने दाबी गर्दै आउनुभएको छ । नेतान्याहूमाथि भ्रष्टाचार, धोखाधडी र विश्वासघात गरेको आरोपमा २०१९ देखि मुद्दा चलिरहेको छ ।
विपक्षी नेता याइर लापिडले भने आममाफीको विषय दोषी ठहर भएपछि वा सजाय पाएपछि मात्रै हुने र अहिले त्यो स्थिति नभएको प्रतिक्रिया दिनुभएको छ । तर नेतान्याहूका वकिलहरूले यो मुद्दा राष्ट्रिय हितसँग जोडिएको भन्दै राष्ट्रपतिले विशेष हस्तक्षेप गर्न सक्ने तर्क गरेका छन् ।
इजराइलमा परम्परागत रूपमा अदालतको प्रक्रिया पूरा भएर दोष सिद्ध भएपछि मात्र क्षमादान दिइने चलन रहँदै आएको छ । राष्ट्रपति इसाक हर्जोगको कार्यालयले नेतान्याहूको अनुरोध गम्भीर विषय भएकाले सबै पक्षको राय संकलनपछि जिम्मेवारीपूर्वक निर्णय लिइने जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत यसअघि हर्जोगलाई पत्र लेख्दै नेतान्याहूविरुद्धको मुद्दा राजनीतिक भएकाले क्षमादान दिन आग्रह गर्नुभएको थियो ।





प्रतिक्रिया दिनुहोस्