इलाम। विभिन्न कारणले अभिभावक विहीन बन्नुपरेपछि अधिकांश बालबालिकाको शैक्षिक भविष्य अन्धकार बनेको पाइएकाे छ।
तर इलामको रोङ गाउँपालिकाले भने त्यस्ता अभिभावक विहीन बालबालिकाको शक्षिक भविष्य निर्माणका लागि उदाहरणिय काम गरिरहेको हाे। विभिन्न कारणले बाबुआमा गुमाएका बालबालिकाहरु शिक्षाको उज्यालो घामबाट वञ्चित हुन नपरोस् भन्ने उदेश्यका साथ गाउँपालिकाले त्यस्ता बालबालिकाको शिक्षाका लागि सम्पूर्ण जिम्मा लिएको छ।
पालिकाभित्र रहेका २१ जना अभिभावक विहीन बालबालिकाहरुको दैनिक पठन-पाठनमा हुने खर्चको जिम्मेवारी रोङ गाँउपालिकाले लिएको हो। बाबु आमाको मृत्युपश्चात, बाबुआमाले अन्तै विवाह गरेर साहारा विहीन बनेका बालबालिकालाई शिक्षा प्रदानका लागि पालिकाले नै जिम्मेवारी लिने कार्यको शुरुवात भएको छ।
गाउँपालिकाले बिहीबार एक कार्यक्रमको आयोजना गरेर बाबु-आमा नभएका बालबालिकाको शैक्षिक सामग्री, कापी, कलम तथा पोसाक, झोला र जुत्ता लगातयका शैक्षिक सामग्री समेत प्रदान गरेकाे हाे। तत्कालका लागि मात्रै नभई पालिकाले दीर्घकालीन रुपमा वार्षिक १० हजार रुपियाँ खर्च गर्ने योजना पनि बनाएको गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङबो (सुवास)ले बताउनुभयाे।
पहिलो चरणमा पालिकाले पालिकाभित्र रहेका अभिभावक विहीन २१ जना बालबालिकाका लागि ५ लाख रुपैयाँ बराबरको दुर्घटना बिमा र १ लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा गरिदिएको छ। त्यसैगरी ती २१ जनाकै बैंक खाता खोलिदिएर एकमुष्ठ ३०–३० हजार रुपैयाँ पनि जम्मा गरेको छ। जसमध्ये गाउँपालिकाले १०–१० हजार रुपैयाँ र सिद्धिखोला हाइड्रोपावर कम्पनीले २०–२० हजार जम्मा गरिदिएको हो। यो रकम ती बालबालिकाहरुले कक्षा १२ सकेपछि मात्रै निकाल्न पाउने व्यवस्था मिलाईएको छ।
पालिकाकै पहलमा उनीहरू सबैको डिम्याट खाता खोलि विभिन्न कम्पनीको आइपिओ समेत भर्न पाउनेछन्। आफन्त र छिमेकीको आश्रयमा रहेका उनीहरुको बासको व्यवस्था पनि पालिकाले नै गर्दैछ। जसका लागि छात्रावास निर्माण कार्य पनि शुरु भएको हाे। आफूहरुको शिक्षा र दैनिकिका लागि गाउँपालिकाले नै अभिभावकत्व लिएपछि बालबालिकाहरुमा आत्मविश्वास मात्र बढेको छैन साहारा वहीन बालबालिकाको उज्वल भविष्यका लागि ठूलो योगदान पुगेको वडा नम्बर ३ का अध्यक्ष मात्रिका बरालले बताउनुभयाे।
असहाय र अभिभावक विहीन बालबालिकालाई गरिएको यो सहयोग अध्यक्षसँग विद्यार्थी कार्यक्रम अन्तर्गत सञ्चालन भइरहेको छ। ‘उद्यमशीलतामा आधारित अध्यक्षसँग विद्यार्थी कार्यक्रम सञ्चालन कार्यविधि २०८०’ पारित गरी कार्यान्वयनमा लगिएको प्रमुख प्रशासकीय अधिकृत बिनोद कुमार चौहानले बताउनुभयाे।
पछिल्लो समयमा वैदेशिक रोजगारीले बाबुको विदेशमै मृत्यु हुने वा हराउने समस्या बढेको छ । बाबुको मृत्यु र विदेशमा हराउने प्रवृत्तिले आमाले पहिलेको सन्तानलाई छाेडेर अन्तै विवाह गर्ने प्रचलनले पनि बालबालिका अभिभावकविहीन हुने क्रम बढेको छ। त्यस्तै, सामाजिक सञ्जालका कारण कम उमेरमै विवाह हुने र अन्त विवाह हुने समस्याले पनि बालबालिका अभिभावक विहीन बन्दै गएका छन् ।
यस्ता बालबालिकाको सहयोगका लागि साेही गाउँपालिकाले थालेको कदम देशका अन्य स्थानीय पालिकाका लागि प्रेरणा बन्न सक्छ ।
भिडियाे रिपाेर्ट:





प्रतिक्रिया दिनुहोस्