काठमाडाैं। ग्रामीण पत्रकारिताका अग्रणी स्वर्गीय विनय कुमार कसजुको छैठौं स्मृतिको अवसरमा कसजुको गृहनगर पाल्पाको तानसेनमा विशेष सम्वाद तथा फुरस्कार वितरण कार्यक्रमआयोजना गरिएको छ।
कार्यक्रममा स्वर्गीय कसजुसँगै साहित्य सृजना, प्रकाशन, पत्रकारिता, ग्रामीण सञ्चार, पर्यटन, रेडियो मदनपोखराको स्थापना र सञ्चालनलगायतका काममा सक्रिय रुपमा लागेका विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको हाे। समाजसेवी वुद्धिप्रसाद शर्मा, साहित्यकार विजय सागर श्रेष्ठ, पत्रकार गोविन्द भट्टराई, ग्रामीण पत्रकार तथा समाजसेवी सोमनाथ अर्याल र कानूनविद् कमल मलेगोले स्वर्गीय कसजुले पत्रकारितादेखि सामाजिक न्यायको क्षेत्रमा खेल्नुभएको नेतृत्वदायी भूमिकाको चर्चा गरेका थिए।
त्यसैगरी राष्ट्रिय सूचना आयोगमा विनय कुमार कसजू पछि प्रमुख आयुक्त बन्नु भएका पूर्वसचिव कृष्णहरि बास्कोटाले पहिलो प्रमुख सूचना आयुक्तको रुपमा कसजूले गर्नु भएका कामहरुको फेहरिस्त प्रस्तुत गर्नुभएको थियो । उहाँले विनय कसजु जस्तो व्यक्तित्व पाउने तानसेन नगरपालिका र पाल्पा जिल्लाले उहाँको योगदान भावि पुस्ताले सम्झी राखुन् भन्नका निम्ति काम गर्न आह्वान गर्नुभयो।
कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख सन्तोष वैद्यले विनय कुमार कसजुको नाम पालिकाका कामका सन्दर्भमा बारम्बार उठने गरेको सम्झना गर्दै बास्कोटाका सुझावलार्य कार्यान्वयन गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । त्यस्तै, पाल्पाका प्रमुख जिल्ला अधिकारी बिनु बज्राचार्य कुँवरले कसजुको बहुमुखी व्यक्तित्वका विषयमा थाहा पाउँदा प्रशासनिक क्षेत्रबाट उहाँको योगदानको कदर गराउन पहल गर्न प्रोत्साहन मिलेको बताउनुभएकाे छ। सोही अवसरमा विनय कसजू साहित्य साधक पुरस्कार नीलकण्ठ न्यौपाने, विनय कसजू पत्रकारिता पुरस्कार गोविन्द प्रसाद भट्टराई र विनय कसजु रेडियो साधक पुरस्कार राजेश अर्याललाई प्रदान गरिएको थियो। ती पुरस्कारहरु जनही २५ हजार राशीकाे रहेकाे छ।
त्यस्तै, बाल साहित्यमा मरणोप्रान्त सम्मान शान्त दास मानन्धरलाई प्रदान गरिएको थियो। पाल्पाको पत्रकारितामा योगदानका निम्ति झपेन्द्र गहिरे र पाल्पाको सामाजिक सेवाका निम्ति सुशीला श्रेष्ठलाई सम्मान गरिएको हाे।





प्रतिक्रिया दिनुहोस्