Logo ७ माघ २०८२, बुधबार | Wed Jan 21 2026


‘पुरानै नेताको पुनरागमनले देश डरलाग्दो द्वन्द्वतर्फ जाँदैछ’: नेता भुसाल


598
Shares

काठमाडाैं। नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियानका नेता घनश्याम भुसालले जेनजी आन्दोलनको मुद्दालाई प्रमुख राजनीतिक दलका नेताहरूले नजरअन्दाज गरिरहेको आरोप लगाउनुभएको छ।

काठमाडाैंमा बिहीबार नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) रअभियानबीच एकता घोषणा कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे आरोप लगाउनुभएको हाे। उहाँले फेरि समाजले रिजेक्ट गरेका पुरानै अनुहारहरु राजनितिमा सक्रिय हुने प्रयासमा लागिरहेको बताउनुभयो । फेरि राजनीतिक नेतृत्व पुरानै हातमा फर्कियो भने देश अर्को डरलाग्दो द्वन्द्वतर्फ जाने उहाँको दावी छ। जेनजी आन्दोलनको अर्थ-राजनीतिक ओज धेरै गहिरो रहेको बताउदै उहाँले यसलाई नबुझ्नु राजनीति पक्षबाट भयंकर नालायकी हुने उल्लेख गर्नुभयो।

संविधान निर्माणपछि देशमा असाधारण राष्ट्रिय आकांक्षा बने पनि त्यही समय कम्युनिष्ट नेतृत्वले सही निर्णय गर्न नसक्दा जनतामा तीब्र निराशा पैदा भएको उहाँले बताउनुभयो। उहाँका अनुसार शासन संयन्त्रका सबै तहमा जनताको विश्वास गुमेपछि जेनजी आन्दोलनको नाममा विद्रोह भएको बताउनुभएकाे छ। नेता भुसालले मानिसले प्रधानमन्त्री, मन्त्री, न्यायाधीश र नेता को हो भनेर छुट्याउनै छाेडेको समेत बताउनुभयो। राज्य संयन्त्रप्रतिको अविश्वासले जनताको आक्रोश सडकमा जेनजी आन्दोलनका रूपमा अभिव्यक्त भएको उहाँको भनाइ छ।

गत भदौ २३ र २४ का घटनालाई देशभित्र तथा बाहिरका आपराधिक, पपुलिस्ट, सत्तालोलुप र षड्यन्त्रकारी शक्तिले दुरुपयोग गरेको उहाँले बताउनुभयो । भदौ २३ र २४ को ताण्डवले मुलुक अझ ठूलो संकटतर्फ धकेलिएको उहाँको भनाइ छ । उक्त आन्दोलनमा देशको करिब एक तिहाइ अर्थतन्त्र ‘भाँचिसकेको’ उहाँको दावी थियाे। उहाँले कम्युनिस्ट आन्दोलनकै केही नेताहरू सत्ता र स्वार्थका लागि राजनीतिको चुलीमा बसेर नेपाललाई यो स्थितिमा पुर्‍याएको समेत नेता भुसालले आरोप लगाउनुभयो।