
प्रदिप पौडेल
पोखरा, असार ६ । प्रदेश ४ मा आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रस्तुत गरेको प्रदेश विनियोजन विधेयक रकम समानुपातिक बन्न नसकेको भन्दै सत्ता पक्षकै सांसदहरुले आपत्ति जनाएका छन् ।
बजेट बिनियोजन गर्दा कास्की, स्याङजा, लमजुङ र गोरखामा धेरै योजना रहेको तर अन्य जिल्लामा कम योजना परेको भन्दै सत्ता पक्षका सांसद विनोद केसीले आपत्ति जनाए ।
उनले छलफलका क्रममा सत्तापक्षको सांसद भएका कारण विधेयककोे समर्थन गरे पनि योजना छनोटमा भने आफुलाई आपत्ति रहेको बताए ।
उनले बजेटले कोहीलाई भने दहीमा चिनी, कोहीलाई भने पानी नै नदिनेजस्तो गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।
छाँयामा परेका विकट गाउँ बस्तीका योजना रातो किताबमा देख्न नपाउँदा आफूलाई चिन्तित बनाएको सत्ता पक्षकै अर्का सांसद इन्द्रधारा डादु विष्टको भनाइ थियो ।
रातो किताबमा सयौं पुलका योजनाका बीचमा आफूले मागेको एउटा मात्र पुल नदेख्दा, सयौं खानेपानी योजनाका बीचमा आफ्नो पहिलो प्राथमिकतामा परेको खानेपानी योजना नदेख्दा मुटु कटक्क खाएको उनको भनाइ थियो ।
प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले बजेट मन्त्रीमुखी जिल्लामा मात्रै केन्द्रित भएको भन्दै आपत्ति जनाए । उनले कतिपय जिल्लामा पाँच सात वटा पुल, २८/२९ सडक उल्लेख भए पनि नवलपुर एउटै पुलबाट पनि बञ्चित बनेको बताए ।
कार्यक्रममा सांसद धनञ्जय दवाडी, दिपक कोइराला, कृष्ण थापा, हरिशरण आचार्य, इन्द्रलाल सापकोटा, ओमकला गौतम, आशा कोइराला, पियारी थापा, जुना देवी नेपाली, विन्दु कुमार थापा, दिलमाया रोकामगर, मनकुमारी गुरुङ, कृष्णबहादुर थापा, दोबाटे विश्वकर्मा, मिना गुरुङ, राजिव पहारी लगायतले बजेटले योजनाहरुलाई समेट्न नसकेको बताए ।
प्रतिक्रिया दिनुहोस्