Logo १० मंसिर २०८२, बुधबार | Wed Nov 26 2025


३५ वर्षसम्म सत्तामा बस्दा लागेको धुलो र हिलो पखाल्न विशेष महाधिवेशन गरौं: नेता घिमिरे

पार्टी नेतृत्वले महाधिवेशमार्फ संगठन पुर्नसंरचनाको माग बेवास्ता गरेको आरोप

0
Shares

काठमाडाैं। नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी नेतृत्वले महाधिवेशमार्फ संगठन पुर्नसंरचनाको माग बेवास्ता गरेको आरोप लगाउनुभएको छ।

काठमाडौंमा बुधबार आयोजित विशेष महाधिवेशन पक्षधर नेताहरूको भेलालाई सम्बोधन गर्दै नेता घिमिरेले यस्तो आरोप लगाउनुभएको हो। उहाँले विगत ३५ वर्षको पार्टी सञ्चालन र नेतृत्वको कार्यशैलीमाथि गम्भीर समीक्षा आवश्यक रहेको भन्दै त्यसका लागि विशेष महाधिवेशन आयोजना अपरिहार्य आवश्यकता भएको बताउनुभयो। उहाँले कांग्रेस विगत ३५ वर्षदेखि निरन्तर सरकारमा रहेको उल्लेख गर्दै सरकारमा रहँदा गरेका कामहरुको समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याउनुभएकाे छ।

नेता घिमिरेले पार्टीको सुधारको लागि केन्द्रीय समितिको सिमित घेराले मात्रै पर्याप्त नहुने भन्दै नियमित महाधिवेशन अपरिहार्य रहेको दोहोर्‍याउनुभयो । सत्तामा बसेका बेला पार्टीले सञ्चित गरेको धुलो र हिलो पखाल्नुपर्ने उहाँको तर्क छ। उहाँले गत असोज २८ देखि चलिरहेको कांग्रेस केन्द्रीय समितिको बैठकले आजसम्म उल्लेख्य निष्कर्ष निकाल्न नसक्नु पार्टी नेतृत्वको कमजोरीको परिणाम भएको पनि बताउनुभयो।

नेता घिमिरेले कांग्रेस केन्द्रीय समिति बैठकले संसारका सबै रेकर्डहरु भंग गरिसक्दा समेत निर्वाचनमा सहभागी हुने निर्णय बाहेक निष्कर्ष निकाल्न नसकेको टिप्पणी गर्नुभएकाे छ। ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिको माग सम्बोधन गर्नुको सट्टा उल्टै अपमानित गर्ने काम गरेको बताउदै उहाँले त्यस्तो नगर्न समेत पार्टी नेतृत्वलाई चेतावनी दिनुभयो।

नेता घिमिरेले विशेष महाधिवेशनमार्फत नयाँ पुस्ताको सहभागितासहित पार्टी पुनःसंरचना गर्नुपर्ने माग दोहोर्‍याउनुभयो। उहाँले आगामी पुस मसान्तसम्म विशेष महाविधेशनको कार्यकालिता सार्वजनिक गर्न माग समेत गर्नुभएकाे छ।