Logo ९ मंसिर २०८२, मंगलबार | Tue Nov 25 2025


सार्वजानिक खपतको लागि निर्वाचन हुँदैन भन्नेलाई काम गरेर जवाफ दिन्छु: गृहमन्त्री अर्याल

निर्धक्क भएर आफ्नो जिम्मेवारी पूरा गर्न प्रहरीलाई निर्देशन

299
Shares

काठमाडाैं। गृहमन्त्री ओमप्रकाश अर्यालले सुशासन प्रवद्र्धन गर्दै निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी वर्तमान सरकारको रहेको बताउनुभएको छ।

भैरहवामा मंगलबार लुम्बिनी प्रदेशद्वाराआयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उहाँले निर्वाचनलाई नै मूल मन्त्र बनाएर काम गरिरहेको बताउनुभएकाे हाे। वर्तमान सरकार निर्वाचन गराएर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर रहेको उहाँको दावी छ। नेकपा एमालेका अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै केही व्यक्तिहरु सार्वजानिक खपतको लागि विभिन्न बाहाना देखाएर निर्वाचन हुँदैन भनेर हिडिरहेको समेत उहाँले बताउनुभयो।

निर्वाचन हुँदैन भन्नेहरुलाई सरकारले कामले जवाफ दिने र दिइरहेको उहाँको भनाइ छ । एमाले अध्यक्ष ओलीले वर्तमान सरकारले निर्वाचन गर्नै नसक्ने बताउँदै आउनुभएको छ। गृहमन्त्री अर्यालले आफ्नो इच्छाले आफूहरु सरकारमा नआएको पनि बताउनुभयो। देश शून्यतामा पुगेको अवस्थामा पाएको जिम्मेवारीलाई पूरा गर्न आफूहरुको केन्द्रित रहेको उहाँले बताउनुभयाे।शान्ति सुव्यवस्था कायम गर्न एवं निर्वाचनको वातारण सिर्जना गर्न प्रदेश सरकारको भूमिका पनि उत्तिकै महत्वपूर्ण रहेको उहाँकाे तर्क छ। संघीय सरकारले निर्वाचनपूर्व, निर्वाचनको अवधि र निर्वाचन पश्चातका कार्यहरुमा समेत प्रदेश सरकारको सक्रियता रहने गरी संयन्त्रहरु बनाएको उहाँले जानकारी दिनुभयो ।

केन्द्रीय सुरक्षा संयन्त्रबाट स्वीकृत भएको निर्वाचन सुरक्षा योजना बमोजिम प्रदेश सरकारले पनि आफ्नो प्रादेशिक सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याउने गृहमन्त्री अर्यालको भनाइ छ। उहाँले निर्वाचनको लागि राजनितिक दलहरुले फरार कैदीबन्दी र लुटिएका हतियारलाई प्रमुख सुरक्षा चुनौतीको रुपमा औल्याएको उल्लेख गर्दै विशेष अपरेशनमार्फत हतियार फिर्ता ल्याईसकेको दावी गर्नुभयो। ठूलो संख्यामा कैदीहरु पनि फिर्ता भइसकेको उहाँको भनाइ छ।

गृहमन्त्री अर्यालले निर्वाचनको तयारी स्वरुप नै लुम्बिनी प्रदेशमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी आयोजना गरिएको बताउनुभयो । अन्य प्रदेशमा पनि गोष्ठी आयोजना गर्ने उहाँको भनाइ छ । प्रहरीहरुलाई निर्धक्क भएर आफ्नो जिम्मेवारी पूरा गर्न समेत उहाँले निर्देशन दिनुभयो । उहाँले राजश्व चुहावट नियन्त्रणलाई विशेष ध्यान दिन निर्देशन दिनुभएकाे छ।