काठमाडाैं ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि औपचारिक रूपमा शुरू भएको छ ।
अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस (नोभेम्बर २५) को अवसर पारेर हरेक वर्ष झैँ मनाइने यो अभियान यस वर्ष पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘सबै महिला र बालिकामाथि हुने डिजिटल हिंसाको अन्त्य गर्न जुटौँ’ भन्ने छ । राष्ट्रिय नारा भने ‘प्रविधिको सही प्रयोग गरौःँ लैङ्गिक हिंसा अन्त्य गरौँ’ तय गरिएको छ ।
अभियानको उद्देश्य लैङ्गिक हिंसाबारे जनचेतना अभिवृद्धि गर्ने, प्रविधिको उचित प्रयोगमार्फत हिंसा रोकथामलाई प्रभावकारी बनाउने तथा महिलाको अधिकार संरक्षण र सशक्तिकरणलाई अघि बढाउने हो ।
संयुक्त राष्ट्रसंघको १९९९ को महासभाले नोभेम्बर २५ लाई ‘महिला हिंसा अन्त्य दिवस’ घोषणा गरेपछि विश्वभर १६ दिने अभियान मनाउन थालिएको हो ।
नेपालमा भने यो दिवस वि.सं. २०५४ सालदेखि मनाउन थालिएको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले तीनै तहका सरकार, विद्यालय, संघ–संस्था र सरोकारवालाहरुलाई अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ ।





प्रतिक्रिया दिनुहोस्