काठमाडौं। राष्ट्रिय सभाका सांसदहरुले निर्वाचन गराउने वातावरण बनाउन नसकेको भन्दै सरकारको आलोचना गरेका छन्।
संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सोमबार बोल्दै सांसदहरुले निर्वाचनको वातावरण बनाउने काम हुन नसकेकोमा सरकारप्रति आक्रोश व्यक्त गरेका हुन् । नेपाली कांग्रेसका सांसद युवराज शर्माले जेनजी आन्दोलनको क्रममा उपराधिक गतिविधिमा संलग्नमाथि कारबाही गर्ने प्रहरीको पहललाई पनि गृह मन्त्रालयले अघि बढ्न नदिएको जिकिर गर्दै आपत्ति जनाउनुभयो। उहाँले सरकारले निर्वाचनका लागि सुरक्षित वातावरण बनाउने प्रयास समेत नगरेको बताउनुभएको छ। सांसद शर्माले प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो सम्पत्ति सार्वजनिक नगरेको पनि असन्तुष्टि व्यक्त गर्नुभयो । सरकारले सुशासन र निर्वाचन सम्पन्न गराउनका लागि कुनै पहल लिन नसकेको सांसद शर्माको भनाइ छ।
नेकपा एमालेकी सांसद सुमित्रा बिसीले नयाँ संसद भवन निर्माण कार्य पूरा गर्न ढिलाई भएको गुनासो गर्नुभयो। सरकारले सोही संसद भवन छिटो सम्पन्न गरेर राष्ट्रिय सभा बैठक संचालनका लागि वातावरण बनाउन ढिलाई गर्न नहुने उहाँको भनाइ छ।
सांसदहरुले राष्ट्रिय गौरवको आयोजना अघि बढाउने काम नगरेर सरकारले मुलुकमा फेरि अर्को आन्दोलनलाई निम्तो दिने काम गरेको समेत बताएका छन् । नेपाली कम्युनिष्ट पार्टीकी सांसद रेनु चन्दले गौरवको आयोजनाको कामलाई अघि बढाउन कर्मचारी प्रशासनले पनि विशेष भूमिका खेल्नुपर्ने आवश्यकता रहेकाे बताउनुभयाे।
सांसद चन्दले सरकारले रानी जमरा सिंचाई आयोजनाको कामलाई तीव्रता दिनुपर्ने समेत बताउनुभएकाे छ।





प्रतिक्रिया दिनुहोस्