काठमाडाैं। श्रीलंका र भारतमा संयुक्त रूपमा आयोजना भएको नेत्रहीन महिला टी-२० विश्वकपको पहिलो संस्करणमा उपविजेता बनेको नेपाली महिला टोली स्वदेश फर्किएको छ।
साेही टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरुले साेमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् । श्रीलंकाको राजधानी कोलम्बोमा आइतबार सम्पन्न फाइनलमा भारतसँग सात विकेटले पराजित भएको थियो। नेपाली महिला टोलीको पहिलो उपाधि लक्ष्य अधुरै रह्यो । पी सारा ओभलमा नेपालले १ सय १५ रनको सामान्य लक्ष्य दिएको थियो । त्यो लक्ष्य भारतले मात्र तीन विकेटको क्षतिमा १२ औं ओभरमै पूरा गर्दै पहिलो संस्करणको विश्वकप उपाधि उचालेको हो।
पहिलो संस्करणको विजेता भारतले १५ लाख र नेपालले ९ लाख श्रीलंकाली रुपैयाँ पाए । श्रीलंकाका प्रधानमन्त्री डा. हरिनी अमरासुरियाले विजेता टोलीलाई पुरस्कार प्रदान गरेका थिए। यस विश्वकपमा नेपालका दुई खेलाडी फरक-फरक क्याटगोरीमा प्लेअर अफ द सिरिज भए । ‘बी वान’ क्याटगोरीबाट सुष्मा तामाङ र ‘बी टु’ बाट सिरिज मनकेशरी चौधरी प्लेअर अफ दी म्याच भएका हुन्।
उनीहरूले दुवैले ३७ हजार ५ रुपैयाँ पुरस्कार पाएका छन् ।












प्रतिक्रिया दिनुहोस्